© २०२३
काठमाडौँ, ७ साउन ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले केन्द्रीय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् ।
हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले यसअघि नै नवीकरण भइसकेको पूर्व राष्ट्रपति भण्डारीको सदस्यता ‘रोक्ने’ निर्णय गरे पछि उनले सामाजिक सञ्जालबाट यस्तो टिप्पणी गरेकी हुन् ।
‘तपाईँहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ, तपाईँहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ?
निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
‘अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन ?’
उनले प्रश्न गर्दै भनेकी छिन, ‘हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरूप कोसिस गरियो।’
उनी अगाडी लेख्छिन्, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन् र, नैतिक समर्थन खोज्दैनन् पनि।
यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो, त्यस कारण यो प्रकरणलाई धन्यवाद !’
