© २०२३
दाङ, ७ साउन ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नेपाली नागरिकलाई सहज, सुरक्षित र भरपर्दो सेवा दिँदै आएको छ। कार्यक्रम अन्तर्गत विभिन्न सूचना, परामर्श तथा सहयोग प्रदान गरी हजारौँ नागरिकलाई लाभान्वित गरिएको छ।
दाङ जिल्लामा २०८१ साल साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६ हजार ६ सय ३६ जनाले सामी कार्यक्रममार्फत सूचना तथा परामर्श सेवा लिएका छन्। परामर्श लिनेहरूमध्ये २ हजार १ सय १३ जना महिला र ४ हजार ५ सय २३ जना पुरुष रहेका छन्।
परियोजनाको सूचना तथा परामर्शकर्ता रीता लामाका अनुसार, वैदेशिक रोजगारीका क्रममा ठगी, शोषण वा अन्य समस्या भोगेका ४८० जनालाई निःशुल्क कानुनी सहायता प्रदान गरिएको छ, जसमा ११४ महिला र ३६६ पुरुष सहभागी छन्।
त्यसैगरी, वैदेशिक रोजगारी ठगीमा परेका ५ जना महिला र ३६ जना पुरुष गरी ४१ जनालाई आर्थिक सहायता तथा क्षतिपूर्तिका लागि सहजीकरण गरिएको छ। फोनमा फलोअप गरी ५ सय महिला र ६ सय पुरुषलाई सूचना र परामर्श प्रदान गरिएको छ।
परामर्शकर्ता लामाका अनुसार, सहजीकरण प्रक्रियाबाट हालसम्म पीडितहरूले कूल ५ करोड ६ लाख ४२ हजार ९ सय ५४ रुपैयाँ बराबरको क्षतिपूर्ति प्राप्त गरेका छन्।
सामी कार्यक्रमले वैदेशिक रोजगारीमा हुने ठगी, मृत्यु वा अन्य समस्याप्रति संवेदनशीलता अपनाउँदै पीडितका हकहितका लागि विभिन्न पहल गर्दै आएको छ। वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिका शव नेपाल ल्याउने प्रक्रियामा समेत कार्यक्रमले सहजीकरण गर्दै आएको छ।
यस्तै, वैदेशिक रोजगारीमा गएका वा जाने तयारीमा रहेका व्यक्तिका परिवारलाई वित्तीय साक्षरता, सीपमूलक तालिम तथा व्यवसायिक ज्ञान प्रदान गरी उनीहरूको आर्थिक सशक्तिकरणमा समेत टेवा पुर्याइरहेको सामी परियोजनाले जनाएको छ।