© २०२३
काठमाडौं ।
बिमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले पदबाट राजीनामा दिएकी छन्।
उनले सोमबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजीनामा बुझाएकी हुन्, जुन अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ।
पोखरेलले स्वास्थ्य समस्याका कारण पदमा बसेर जिम्मेवारी पूरा गर्न नसक्ने भएपछि राजीनामा दिएको बताएकी छन्।
आफू गर्भवती भएकाले डाक्टरको सल्लाहमा बेडरेस्ट गर्नुपरेको र समय दिन नसकिने भएकाले पहिले नै राजीनामाको सोच बनाएकी उनले स्पष्ट पारिन्।
तर प्राधिकरणका अध्यक्ष शरद ओझाको शैक्षिक योग्यतामाथि छानबिन भइरहेका बेला पोखरेलको राजीनामा आएकोले यसलाई अर्थपूर्ण रूपमा पनि हेरिएको छ।
चैत १ गते मात्र सञ्चालक पदमा नियुक्त भएकी पोखरेलको राजीनामापछि सञ्चालक समिति तीन सदस्यमा सीमित भएको छ। अब समितिमा अध्यक्ष शरद ओझा, कानुन मन्त्रालयबाट मानबहादुर अर्याल र बीमित प्रतिनिधिका रूपमा सन्तोष रिजाल मात्र रहेका छन्।