© २०२३
बुटवल, ७ साउन ।
नेपाली कांग्रेसका संस्थापक नेता वि.पि. कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. ३ द्वारा तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीस्थित मानव सेवा आश्रममा “खाना खुवाउने तथा रेफ्रिजेरेटर हस्तान्तरण कार्यक्रम“ सम्पन्न गरिएको छ।
कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद भरत कुमार शाहले करिब ८ दशकअघि वि.पि. कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादको सिद्धान्तमा आज पनि नेपाली कांग्रेस अगाडि बढिरहेको बताए । साथै, उनले सामाजिक कार्यमार्फत जनताको मन जित्ने कार्यमा क्षेत्र नं. ३ सक्रिय रहेको उल्लेख गरे । वि.पि. कोइरालाको राजनीतिक दूरदृष्टि, साहित्यिक योगदान, तथा पार्टी संगठनमा पु¥याएको प्रभावको चर्चा पनि उनले गरे।
त्यस अवसरमा नेपाली कांग्रेस रूपन्देही सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले मानव सेवा आश्रमले मानवता आधारित सेवा र उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै पार्टीका अन्य तह र क्षेत्रले पनि यस्ता सामाजिक कार्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
नेपाली कांग्रेस क्षेत्र नं. ३ ले आश्रमको सहज सञ्चालनका लागि रु. २० हजार नगद र एक थान रेफ्रिजेरेटर प्रदान गरेको थियो। साथै, सिद्धार्थनगर नगरपालिका–८, बैंक कलोनी निवासी स्तन क्यान्सर पीडित लक्ष्मी थापालाई आर्थिक सहयोग स्वरूप रु. २१ हजार १२१ प्रदान गरिएको काँग्रेस क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाही, पूर्व सभापति रामचन्द्र ढकाल, संविधानसभा सदस्य जन्नतुन निशा धुनिया, जिल्ला सहसचिव विष्णु थापा, मानव सेवा आश्रमका प्रदेश संयोजक सरु अधिकारी, जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईं, ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरी, प्रदेश सदस्य रमेश खनाल, महासमिति सदस्य दिपक पौडेल, विना न्यौपाने, सुर्य नारायण यादव, लगायत थुप्रै नेताहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, विभिन्न स्थानीय तहका प्रतिनिधिहरू, नेविसंघ, तरुण दलका प्रतिनिधिहरू, जनजाति र महिला नेतृहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा क्षेत्रीय सचिव लेखनाथ भट्टराई,क्षेत्र नं. ३ ‘क’ का सभापति सुरेन्द्र जंग थापाले पनि आ–आफ्नो धारणा राखेका थिए ।