© २०२३
बर्दिया, ०६ साउन ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो प्राकृतिक ताल संरक्षण र निर्माणको पर्खाइमा रहेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा रहेको बढैयाताल यति बेला संरक्षणको पर्खाइमा रहेका हो ।झट्ट हेर्दा पुरै पानीको भाग झारपात र घाँसले ढाकिएको छ, थोरै भाग मात्र पानी देख्न मिल्छ ।
केही भागमा मात्र कमलले ढाकिएको छ भने त्यही भागमा कमलको फूल फूलेको देख्दा मन लोभ्याउने गरेको हुन्छ । त्यस फूलमा चराहरू बसेको देख्दा झनै सुन्दर देखिन्छ । हो त्यही हो एक सय ९ विगाहामा फैलिएको बढैयाताल जुन शृङ्गारको पर्खाइमा बसेको छ ।
ताललाई सौन्दर्यीकरण गर्नका लागि हालसम्म सरकारले तालको नाममा रु. १० को टिकट मात्र दिएको छ भने ३ वर्ष पहिला देखि वार्षिक योजनामा पारेर सङ्घीय सरकारले २ करोड रकम दिएको थियो । त्यस बजेटबाट तालको पश्चिम, दक्षिण र पूर्व भागमा तालको बाँध मात्र निर्माण गरिएको छ ।
त्यसपछि तालमा पालिका लगायत प्रदेश र सङ्घले समेत केही चासो देखाएको छैन । गत वर्ष बढैयाताल गाउँपालिकाले ताल निर्माण गर्नका लागि आर्थिक वर्ष २०८१/०८२ मा एक करोड रकम विनियोजित गरेको थियो तर त्यो एक करोड रकम तालको बिचमा माटो थुपारेर आइसलेण्ड बनाउने बहानामा खर्च गरेको छ तर त्यसको उपलब्धि केही देखिएको छैन ।
पालिकाले चाहेको भए ताललाई पर्यटकीयको रूपमा विकास गरेर पर्यटक भित्र्याएर पालिकाका युवाहरूलाई रोजगारी दिएर आर्थिक स्तर उकास्न सक्छ तर त्यसतिर ध्यान नगएर जिल्ला समन्वय समितिले हरेक ५ वर्षमा ठेक्का दिएर करिब एक करोड बढी रकम आउने गरेको थियो ।
२०७४ सालमा निर्वाचन भएपछि बढैयाताल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएको अर्को वर्ष २०७५ सालमा जिल्ला समन्वय समितिले दिँदै आएको ठेक्का रोकेर पालिकाको मातहतमा लिएर हाल सम्म तालमा कुनै आर्थिक र भौतिक विकास भएको देखिन्छ ।
त्यसले गर्दा पालिकाले मात्र होइन बढैयातालका जनताहरूलाई प्रत्यक्ष असर परेको बढैयाताल गाउँपालिका वडा नं. ५ का स्थानीय कमलेश चौधरीले बताए । ताललाई पर्यटकीय क्षेत्रको रूपमा निर्माण गर्न सके यहाँका युवाहरू तालमै रोजगारी पाउने र ताल घुम्न आएका पर्यटकबाट पालिकाले राम्रो आम्दानी गर्न सक्ने अवस्था देखिएको स्थानीय चौधरीले बताए ।