गुल्मी, ०६ साउन ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका मुख्य कार्यहरूको विवरण सार्वजनिक गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सो अवधिमा विभिन्न सेवा प्रवाह तथा प्रशासनिक कामको प्रगति प्रस्तुत गरेका थिए ।
प्रशासन कार्यालयले गत आर्थिक वर्षमा ९ हजार ८२ वटा नागरिकता प्रमाणपत्र जारी गरिएको छ । जसअन्तर्गत चार हजार ५४५ जना पुरुष र चार हजार ५३७ जना महिलाले नागरिकताको प्रमाण पत्र लिएका छन् । प्रशासनले १८ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गरिएको छ भने १८ जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ ।
त्यसै गरी गत आर्थिक वर्षमा नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या ७ हजार ४९८ जना रहेका छन् । एक आर्थिक वर्षको अवधिमा जिल्लाबाट १९ जना व्यक्तिले नेपाली नागरिकता परित्याग गरेका छन् ।नाबालक परिचयपत्र प्राप्त गरेका बालबालिकाको सङ्ख्या ७४१ रहेको छ ।
राष्ट्रिय परिचयपत्रका लागि जिल्लाबाट २३ हजार ४९० जनाले विवरण दर्ता गराएका छन् । जसमा १३ हजार १२५ महिला र १० हजार ३६५ पुरुष छन् । कार्यालयबाट अहिलेसम्म १९ हजार २७ जनालाई परिचयपत्र वितरण गरिएको छ । राहदानी सेवातर्फ १० हजार ८२३ जनाको सिफारिस गरिएको र १० हजार ३७३ थान राहदानी वितरण गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
जिल्लामा राहदानी बनाउनेमा महिलाहरूको तुलनामा पुरुषहरूको सङ्ख्या अत्यधिक मात्रामा रहेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले कुल ५ करोड ७८ लाख ७५ हजार ६८२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
सङ्कलित राजस्व अन्तर्गत राहदानीबाट पाँच करोड ६५ लाख ४३ हजार ५१० रुपैयाँ, सङ्घसंस्था दर्ताबाट १५ हजार रुपैयाँ, सङ्घसंस्था नवीकरणबाट ७ लाख २९ हजार ८ सय, हातहतियार नवीकरण १ लाख ७५ हजार २५० रुपैयाँ, प्रशासनिक जरिवाना ३ लाख १७ हजार, परीक्षा शुल्क ४६ हजार ४ सय, अन्य प्रशासनिक सेवाबाट ६ हजार ९२ रुपैयाँ, धरौटी सदस्यता शुल्क २२ हजार ६३० रुपैयाँ, सरकारी सम्पत्ति बिक्रीबाट २० हजार रुपैयाँ राजश्व सङ्लन भएको छ ।
विपद् सम्बन्धी राहत स्वरूप २३ जना व्यक्तिलाई सहयोग प्रदान गरिएको छ । नौ जना मृतकका परिवारलाई प्रदेश सरकारको ४ लाख रुपैयाँ सहित कुल १८ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
साथै २ लाख २० हजार रुपैयाँ तत्काल राहत वितरण गरिएको छ । यसै गरी, मुसिकोट नगरपालिका, इस्मा, रुरुक्षेत्र, गुल्मी दरबार र मदाने गाउँपालिकालाई भुक्तानी प्रयोजनका लागि २ लाख ६३ हजार ५६५ रुपैयाँ पठाइएको कार्यालयले जनाएको छ ।