© २०२३
काठमाडौं, ६ साउन।
राष्ट्रिय सभा सदस्य सुरेश कुमार आले मगरले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध गरेका प्रतिवद्धता व्यवहारमा नउत्रिएको टिप्पणी गरेका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद आलेले भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ भन्दैँ अहिले भ्रष्टाचार जताततै छ्याल्लब्याल्ल देखिएको स्पष्ट पारे ।
सांसद आलेले कास्कीको पोखरास्थित लिचिबारी क्षेत्रमा रहेको १३४ रोपनी सरकारी जग्गा हडप्न घुस लेनदेन गरिएको अडियो सार्वजनिक भइसकेपनि प्रधानमन्त्रीले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई मन्त्रिपरिषद्को बैठकमा राखेको बताएका छन्।
गुप्ताले सार्वजनिक दबाबपछि राजीनामा दिइसकेका छन्। उक्त प्रकरणमा अर्को मन्त्री पनि संलग्न रहेको उनले बताए ।
घुस लेनदेनसम्बन्धी सार्वजनिक अडियोले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई पनि जोडेको छ। यद्यपि, मन्त्री अधिकारीले उक्त अडियो आफूसँग सम्बन्धित भएको स्वीकार गरेका छैनन्।