© २०२३
काठमाडौं, ६ साउन।
संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट अगाडि बढ्ने प्रक्रियामा पुगेको छ । आज दिउँसो सवा १ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई दफावा छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
यससँगै अब विधेयकमाथिको विस्तृत छलफल राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा हुने भएको छ ।
यो विधेयकमा १६ समूहमा ४३ जना सांसदको संशोधन परेको छ । एमालेका ५ जना सांसदले भने कुलिङ पिरियडको प्रावधान नै हटाउने गरी संशोधन प्रस्ताव राखेका छन् । यस्तो संशोधन प्रस्तावराख्ने संशोधनकर्ता सांसदहरूमा गोपाल भट्टराई, इन्दिरा देवी गौतम, रुक्मिणी कोइराला, सुमित्रा बि।सी र सोनाम गेल्जेन शेर्पा रहेका छन ।
प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकमा अवकाश प्राप्त सरकारी कर्मचारीलाई दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा अन्य सार्वजनिक पदमा नियुक्त गर्न नपाउने प्रावधान राखिएको छ । तर, यस्तो प्रावधान निश्कृय हुने भाषा समेत अर्को उपदफामा परेको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभामा संसदीय विशेष छानबिन समिति नै बनेको छ ।
अब राष्ट्रिय सभामा भने यस विषयमा फरक-फरक धारणा प्रस्तुत भएका छन् । एमालेले ‘कुलिङ पिरियड’ खारेज गर्नुपर्ने बताएको छ भने, माओवादी केन्द्रले तीन वर्ष कायम गर्नुपर्ने प्रस्ताव राखेको छ । नेपाली कांग्रेसका सांसदहरूले भने वर्तमान दुई वर्षको अवधि नै उपयुक्त रहेको भन्दै त्यसअनुसार संशोधन गरेका छन् ।
अब यी प्रस्तावहरूउपर विधायन व्यवस्थापन समितिमा छलफल हुनेछ ।