© २०२३
बुटवल, ६ साउन।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको निधन वि.सं. २०३९ साल साउन ६ गते भएको हो । बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, भातृ संस्था, शुभेच्छुक संगठनहरू र बिपी संग्रहालयद्वारा मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।
कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भएको थियो । वि.सं. २०१५ को संसदीय निर्वाचनपछि वि.सं. २०१६ जेठमा कोइराला मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । कांग्रेसका नेताहरूले काठमाडौंको सुन्दरीजलस्थित बिपी संग्रहालयमा पुगेर कोईरालाको शालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा कांग्रेस नेता डा. शशांक कोइरालाले मुलुकको लोकतान्त्रिक यात्रामा बिपी कोइरालाले खेलेको भूमिका र उनको दूरदर्शी सोचको चर्चा गरे । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने कोइरालाका करिब डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् ।

सुन्दरीजलको बिपी संग्रहालय
वि.सं.२०६१ साल भदौ २४ गते उद्घाटन गरिएको सुन्दरीजलस्थित संग्रहालय त्यही ऐतिहासिक बन्दीगृह हो, जहाँ बिपी कोइरालासहित निर्वाचित प्रधानमन्त्री, सभामुख र मन्त्रीहरूलाई नजरबन्द गरिएको थियो । उक्त संग्रहालयमा बिपी कोइरालाको जीवनसँग सम्बन्धित दस्तावेज, सामग्रीहरूसँगै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर र २०३० सालमा कांग्रेसले अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि प्रदर्शनमा राखिएको छ ।
रुपन्देहीको वृहत वृक्षारोपण
४३ औँ स्मृति दिवसकै अवसरमा नेपाली कांग्रेस कार्यसमिति रुपन्देहीले शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्र हाताभित्र रहेको बिपी बाटिकामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागीहरूले बिपी कोइरालाको स्मरण गर्दै पर्यावरणप्रेम, सामाजिक न्याय र समावेशी लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई जीवन्त राख्ने गरि वृक्षारोपण कार्यक्रम गरिएको बताए । स्मृति दिवससँगै बिपी कोइरालाको विचार र योगदानलाई भावी पुस्तासमक्ष उजागर गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले देशैभर विविध कार्यक्रमहरू गरिएको छ ।