Butwal Today

स्मृतिमा बिपी, व्यवहारमा विसङ्गति

६ श्रावण २०८२, मंगलवार
अ+
अ-

नेपालको राजनीतिक इतिहासमा केही यस्ता व्यक्तित्व छन्, जसको नाम केवल एक व्यक्तिमा सीमित हुँदैन—त्यो एउटा विचार, एउटा आन्दोलन र प्रेरणाको श्रोत बन्न पुग्छ । बिपी कोइराला त्यही श्रेणीमा पर्नुहुन्छ । उहाँको जीवनयात्रा केवल नेपाली कांग्रेससम्म सीमित रहेन, नेपाली लोकतन्त्रको सम्पूर्ण आन्दोलनसँग गहिरो रूपले गाँसिएको छ, तर विडम्बनापूर्ण यथार्थ के छ भने, आज बिपीको नाम जताततै उच्चारण गरिन्छ, तस्वीर झुण्ड्याइन्छ, भाषणहरूमा प्रशंसा गरिन्छ—तर उहाँको विचार, दर्शन र दृष्टिकोणलाई व्यवहारमा उतार्ने चाहना वा प्रतिबद्धता कमै नेताहरूमा देखिन्छ । बिपी कोइरालाको नामको जयजयकार भइरहे पनि उहाँका विचारहरू भने क्रमशः विसर्जन हुँदै गएका छन् ।

बिपी कोइराला नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनका एक कालजयी नेता हुन्। भारतमा कानून पढ्दाका दिनहरूमा उहाँले केवल पुस्तकहरू अध्ययन गर्नु भएन, त्यहाँको स्वतन्त्रता आन्दोलनबाट प्रत्यक्ष प्रशिक्षण लिनुभयो । त्यही उर्जा लिएर नेपाल फर्किएका बिपीले २००७ सालको क्रान्तिमा नेतृत्व गर्नुभयो, र प्रजातन्त्रको स्थापनापछि २०१५ सालको संसदीय निर्वाचनमार्फत नेपालको पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री बन्नुभयो । त्यो प्रजातान्त्रिक शासन लामो टिक्न सकेन। २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरेपछि बिपीलाई जेल, निर्वासन र यातनाको सामना गर्नुप¥यो तर, उहाँले जीवनभर सिद्धान्त र विचारको राजनीति छाड्नुभएन ।

बिपी कोइरालाको मूल राजनीतिक दर्शन थियो—लोकतान्त्रिक समाजवाद। उहाँले कम्युनिस्टहरूको वर्गसंघर्षको मार्ग अस्वीकार गर्दै भन्नुभयो—“शोषणको अन्त्य चाहिएको हो, तर त्यो लोकतान्त्रिक पद्धतिबाट हुनुपर्छ ।“ अर्कोतर्फ, चरम पुँजीवादी स्वतन्त्रतालाई पनि उहाँले नकार्नुभयो, जसले सम्पत्ति सिमित वर्गमा केन्द्रित गराउँछ। उहाँको धारणा थियो—“प्रजातन्त्रले राजनीतिक स्वतन्त्रता दिन्छ, समाजवादले सामाजिक र आर्थिक न्याय; यी दुई छुट्टाछुट्टै होइन, सँगै जानुपर्छ ।“ बिपीका लागि प्रजातन्त्र केवल चुनाव जित्ने वा सत्तामा पुग्ने माध्यम थिएन, त्यो जनताको सक्रिय सहभागिता, समानता र अवसर सुनिश्चित गर्ने माध्यम थियो ।

तर, आज यही बिपी कोइरालाको नाम बोकेको नेपाली कांग्रेस क्रमशः ती आदर्शहरूबाट चिप्लिँदै गएको देखिन्छ । चुनाव नजिकिँदा भाषणहरूमा ‘बिपीका सपना’, ‘बिपीको बाटो’, ‘बिपीको विचार’ भनेर गरिने जयजयकार, चुनाव सकिएपछि कुर्सीको भागबन्डा र गुटगत समीकरणमा रूपान्तरण हुन्छ । विचारको नाममा सत्ताको राजनीति हावी भएको देखिन्छ । पार्टीभित्र गुटको आधारमा निर्णय हुने, सरकारमा भागबन्डा गर्ने, र कार्यकर्ताको मूल्याङ्कन विचार नभई पहुँचका आधारमा गरिने प्रवृत्तिले बिपीका विचारहरूको अपमान गरेको छ ।

बिपीले नेतृत्वलाई सेवा, त्याग र इमानदारीको प्रतीक मानेका थिए । तर आज कांग्रेसभित्र नेतृत्व विशेषाधिकार, पहुँच र शक्तिको स्रोत बनिसकेको छ । बिपी भन्थे—“राजनीतिमा शक्ति केवल साधन हो, साध्य होइन ।“ तर अहिलेको कांग्रेसमा शक्ति नै अन्तिम लक्ष्यजस्तो बनाइएको छ । यही सोचले गर्दा भ्रष्टाचारमा चुप लाग्ने, अनियमिततामा आँखा चिम्लिने र आफ्ना नजिकका व्यक्तिलाई जोगाउने प्रवृत्ति मौलाउँदै गएको छ ।

बिपीले कल्पना गरेको नेपाली समाज समग्र रूपान्तरणतर्फ उन्मुख थियो—जहाँ शिक्षा, स्वास्थ्य, कृषि र उद्योगमा आधारित आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुनुपर्छ भन्ने उहाँको धारणा थियो । तर आज कांग्रेसको नेतृत्व नीति निर्माणभन्दा बढी लाभमुखी, आयातमुखी र आयआर्जनमुखी चिन्तनमा केन्द्रित देखिन्छ। पार्टीका घोषणापत्रहरू सुन्दर भाषामा सजिएका हुन्छन्, तर व्यवहारमा तिनको प्रभाव शून्यजस्तै देखिन्छ । विकासको नाममा वर्गीय, सामाजिक र क्षेत्रीय विभाजनको बहस गौण बनेको छ ।

संगठनात्मक दृष्टिले पनि कांग्रेस अब बिपीको शैलीमा बाँकी छैन । बिपी गाउँ–गाउँ पुगेर कार्यकर्ता प्रशिक्षण दिन्थे, सादा जीवन बाँच्थे, विचार बाँड्थे । आज कांग्रेसको संगठन चुनाव नजिकिँदा मात्र सक्रिय हुने, बाँकी समयमा निष्क्रिय रहने प्रवृत्तिमा सीमित रहन थालेको आभास कार्यकर्ताहरुले गर्न थालेका छन् । जनतासँगको सम्बन्ध कमजोर भएको छ । चुनाव जित्न गठबन्धनको अंकगणित मात्र भरपर्दो उपाय मानिन्छ—तर त्यो दीर्घकालीन होइन ।

युवापुस्ताको विषयमा बिपी खुला दृष्टिकोण राख्थे । उहाँले आफू पनि युवाकालमै नेतृत्व सम्हाल्नुभयो, आफ्ना समकालीनहरूलाई अघि बढाउनु भयो । तर अहिले कांग्रेसमा नेतृत्व पुरानो पुस्ताकै कब्जामा सीमित छ। नयाँ पुस्तालाई जिम्मेवारी दिनु त परै जाओस्, उनीहरूलाई प्रचारको औजार बनाउने प्रवृत्ति हावी छ ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अर्को चिन्ताजनक पक्ष हो । बिपीले जीवनभर बहस, आलोचना र वैचारिक संवादलाई प्रोत्साहन गर्नुभयो । तर अहिले आलोचना गर्ने कार्यकर्ता निष्क्रिय पारिन्छन्, छुट्याइन्छन् वा चुप गराइन्छ । विचारको ठाउँमा चाकरी, बहसको ठाउँमा भाषण, र संगठनको ठाउँमा बिचौलियाको प्रभाव देखिन्छ । यस्तो प्रवृत्तिले कांग्रेसलाई एउटा वैचारिक आन्दोलनबाट केवल एक नामधारी संस्था बनाइदिएको छ ।

समावेशीकरण, सामाजिक न्याय र क्षेत्रीय सन्तुलनका सवालमा पनि कांग्रेसले ठोस कार्यनीति प्रस्तुत गर्न सकेको छैन । बिपीको विचारमा मधेसी, जनजाति, महिला, दलित सबैका अधिकार सुरक्षित गरिनुपर्छ भन्ने स्पष्ट अडान थियो। तर आज ती वर्गहरूसँग कांग्रेसले केवल चुनावी समीकरणको दृष्टिले व्यवहार गरिरहेको देखिन्छ। वास्तविक समावेशी राजनीतिक अभ्यास कोटा र औपचारिक प्रतिनिधित्वभन्दा पर जानुपर्छ ।

आजको परिप्रेक्ष्यमा कांग्रेसप्रति जनतामा बढ्दो निराशा प्रकट भएको छ । जनताले वैकल्पिक पार्टीहरू वा स्वतन्त्र उम्मेदवारलाई रोज्न थालेका छन् । यसको मूल कारण भनेकै कांग्रेसले आफ्नो विचार, मूल्य र प्रतिबद्धता गुमाउनु हो । सत्ता चाहिएको छ, तर सिद्धान्त बिना; संगठन चाहिएको छ, तर जनसरोकार बिना—यही विसंगतिले कांग्रेसलाई कमजोर बनाइरहेको छ । जनताले अब नाम होइन, कर्म हेर्छन्—र कर्मको अभावले कांग्रेसप्रति जनआस्था खस्कँदो छ ।

तर अझै पनि समय छ—कांग्रेसले आत्मसमीक्षा गरेर बिपीका विचारमा फर्कन सक्छ । त्यसका लागि पुराना नेतृत्वले मार्गदर्शक भूमिकामा जानु पर्दछ र नयाँ पुस्तालाई अवसर दिनु पर्दछ। सिद्धान्तको पुनरपरिभाषा, संगठनको सशक्तीकरण, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको कठोर नीति लागू गर्नु पार्टी पुनर्जागरणको मुख्य शर्तहरू हुन् ।

त्यस्तै, कांग्रेसले विचारमा केन्द्रित भएर जनतासँग सिधा संवाद गर्नुपर्छ । गाउँ, विद्यालय, सहकारी, श्रमिक वर्ग—यी सबैसँग कांग्रेसको उपस्थिति देखिनुपर्छ। आन्दोलन, संगठन र सिद्धान्तमा फर्किएर मात्र बिपीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ। नत्र भने, ‘बिपीका सन्तान’ भनेर गर्व गर्नेहरूले नै विपीका विचारको विसर्जन गरिरहेका हुन्छन् ।

राजनीति केवल सत्ता प्राप्तिको यात्रा होइन—यो मूल्य, सेवा र दूरदृष्टिको यात्रा हो । बिपी कोइरालाको राजनीति यही आधारमा उभिएको थियो । आजको कांग्रेसले बिपीको नाम साँचो अर्थमा जोगाउन चाहन्छ भने त्यो भाषण र कार्यक्रममा होइन, व्यवहार र कार्यनीतिमा देखिनु पर्दछ । पार्टी सुधार, मूल्य सुदृढीकरण, युवा नेतृत्व र सामाजिक न्यायप्रति साँचो प्रतिबद्धता बिना कांग्रेस फेरि उठ्न सक्दैन । नत्र, जनताले मात्र होइन, इतिहासले पनि भोलिका पुस्तालाई सोध्नेछ—“के कांग्रेसले विपीलाई सम्झियो ? कि केवल प्रयोग ग¥यो ?”