© २०२३
जितपुर, ०६ साउन ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–९ स्थित कोइली खोला (ख) मा निर्माण सम्पन्न भएको नयाँ पुल सञ्चालनमा आएपछि स्थानीय वासीहरूमा खुसी छाएको छ । निर्माण कम्पनीले सम्झौताअनुसारको दुई वर्षको समय सीमा भन्दा झन्डै १५ महिना अघि नै काम सम्पन्न गरेपछि पुल छिट्टै सञ्चालनमा आउनुका कारणले जनतामा ठुलो उत्साह देखिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशको योजनाअन्तर्गत निर्माणको जिम्मा लिएको श्रेष्ठ एन्ड एन.बी. जेभी बुटवल कम्पनीले नौ महिनामै काम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख नारायणप्रसाद भुसालका अनुसार निर्माण कार्यमा कुनै ढिलाइ नगरी उच्च गुणस्तरमा काम सम्पन्न गरिएको बताए ।
निर्माण कार्यमा सडक पूर्वाधार विकास कार्यालय, कपिलवस्तु मार्फत सुरु गरिएको आयोजनालाई स्थानीय सडक पुल कार्यक्रम, ललितपुरले प्राविधिक सहयोग प्रदान गरेको थियो । साइट इन्चार्ज हरि अर्यालका अनुसार निर्माणका सबै मापदण्ड पालना गर्दै काम सम्पन्न गरिएको बताए ।
कोइली खोला (ख) को पुल ७३.५ मिटर लम्बाइ र १० मिटर चौडाइको बनाइएको छ । यो पुल बनगाई–मोतीपुर–भलवाड–डोहोटे सडक खण्डमा पर्दछ । यसअघि वर्षा याममा खोलामा पानीको बहाव अत्यधिक हुने भएकाले आवतजावत अत्यन्तै जोखिमपूर्ण बन्दै आएको थियो ।
वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालका अनुसार, यो पुलले वर्षा याममा सहज यात्रा सुनिश्चित गर्नेछ र स्थानीय जनजीवनमा ठुलो सहजता ल्याउने भनि बताए ।
पुल मार्गले पूर्व–पश्चिम राजमार्गलाई वाणगंगा नगरपालिकाका विभिन्न वडाहरू हुँदै अर्घाखाँचीको शीतगंगा नगरपालिका १२ अन्तर्गत पर्ने डोहटे गोरुसिङ्गे–सन्धिखर्क सडकसँग जोडिन्छ । यसले स्थानीय मात्र होइन, क्षेत्रीय यातायात सञ्जालमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ ।
साथै व्यापारिक प्रवाहमा समेत गतिशीलता ल्याउने स्थानीय व्यवसायीहरूको विश्वास रहेको छ । पुल निर्माणको कुल अनुमानित लागत रु. ११ करोड ४९ लाख २ हजार ८ सय (मूल्य अभिवृद्धि करसहित) रहेको छ । यसअघि कोइली खोला (क) मा पहिले नै पुल निर्माण भइसकेको थियो ।
अब (ख) मा पनि पुल निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रको भौगोलिक सञ्जाल झनै मजबुत भएको छ । वडा नं. ९ का वडाध्यक्ष कमल पौडेलले पुलको समयमै सम्पन्नता र गुणस्तरीय कार्यान्वयनले अन्य निर्माण आयोजनाहरूमा पनि सकारात्मक सन्देश दिने बताए ।
वाणगंगा ९ को कोइली (ख) पुलको सफल र समयमै सम्पन्न निर्माण कार्यले स्थानीय विकासमा महत्त्वपूर्ण टेवा पु¥याउने देखिएको छ । यो पुलले स्थानीय–क्षेत्रीय समृद्धिका लागि एउटा नयाँ ढोका समेत खोलिदिएको छ ।