© २०२३
काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन्। सोमबारदेखि च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले “मिसन ८४” सफल पार्न सबै तह र तप्कामा एकताको आवश्यकतामाथि जोड दिए।
ओलीले नेता–कार्यकर्तालाई पार्टीभित्र कुनै पनि विचार वा असहमति भए खुलेर बैठकमा राख्न प्रोत्साहन दिएका छन्। उनका अनुसार, हाल एमालेमाथि चौतर्फी आक्रमण भइरहेको सन्दर्भमा पार्टी एकता झन् मजबुत बनाउन आवश्यक छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यो जानकारी दिएका हुन्।
अध्यक्ष ओलीले विशेष रूपमा पार्टी फुटाउने वा विभाजन गराउने प्रवृत्तिबाट सावधान रहन आग्रह गर्दै, त्यस्ता तत्वबाट जोगिन सम्पूर्ण कार्यपङ्क्तिलाई एकताबद्ध भएर लाग्न अपिल गरेका छन्।
गौतमका अनुसार, बैठकअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा ओली र भण्डारीबीच च्यासलमै भेटवार्ता भएको थियो। सो छलफलमा पार्टी सदस्यता, संगठनात्मक विषयलगायतका मुद्दामा विचारविमर्श भएको र सदस्यतासम्बन्धी अन्तिम निर्णय केन्द्रीय कमिटीमार्फत हुने अध्यक्ष ओलीले बैठकमा स्पष्ट पारेका छन्।
बैठकमा अहिले पार्टीको विधान संशोधन प्रस्ताव, संगठनात्मक कार्ययोजना, विधान महाधिवेशनको तयारी र समसामयिक प्रस्तावमाथि छलफल जारी छ। प्रस्तावअनुसार, विधानमा रहेका ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालसम्म मात्र रहने प्रावधान हटाउने तयारी छ।
यी संशोधनहरू केन्द्रीय कमिटीले पारित गरेपछि भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा पेश गरिने एमालेले जनाएको छ।