© २०२३
पोखरा, ५ साउन ।
पोखरामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण एक ७४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काका अनुसार ती महिला करिब आठ दिनअघि कोरोना पोजिटिभ देखिएकी थिइन् र उपचारकै क्रममा हिजो उनको मृत्यु भएको हो।
उनी पोखरास्थित चरक अस्पतालमा भर्ना भएकी थिइन्। अस्पताल स्रोतका अनुसार मृतक महिलामा उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घरोगहरू पनि देखिएको थियो। निर्देशक खड्काले भने, “अरु रोग पनि थिए भन्ने छ, तर कोरोना पुष्टि भएकै हो। संक्रमण एसोसियट भएर मृत्युमा भूमिका खेलेको मानिन्छ।”
हाल गण्डकी प्रदेशमा कोरोना संक्रमण दर फेरि बढ्न थालेको निर्देशनालयले जनाएको छ। अहिलेसम्म प्रदेशभर ८ जना संक्रमित उपचाररत छन्। तीमध्ये कास्कीमा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना रहेका छन्।
विशेषज्ञहरूका अनुसार पछिल्ला दिनमा संक्रमण दर फेरि बढ्दै गएको संकेत देखिएको छ र सतर्कता अपनाउन आवश्यक भएको छ, विशेषगरी दीर्घरोग भएका तथा जेष्ठ नागरिकहरूको हकमा।