Butwal Today

रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनियाँ प्रतिबद्धता

५ श्रावण २०८२, सोमबार
अ+
अ-

काठमाडौँ, ५ साउन ।

रसुवा जिल्लामा बाढीले पुर्‍याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र  चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्तामा सो प्रतिबद्धता व्यक्त भएको हो ।

सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए ।

अर्थ मन्त्रालयमा भएको सो भेटका क्रममा सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरूको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।

अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए ।

‘आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्त्वपूर्ण छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँन जरूरी छ,’ अर्थमन्त्री पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?