© २०२३
नवलपरासी, ०५ साउन ।
जिल्लामा केही समयदेखि भारतीय माछाको तस्कर सलबलाउन थालेका छन् । सस्तोमा आउने भारतीय माछाले नेपाली माछा कृषकलाई प्रभावित पार्न अहिले माछा तस्कर सलबलाउन थालेको माछा पालक कृषक चिन्तित हुन थालेका हुन् ।
नेपाली किसानको माछा तयार हुने बेला नै माछा तस्करी गर्ने पनि काम गर्दा किसानलाई प्रभावित बनाउने गरेको प्रतापपुर गाउँपालिका २ सेमरीका अगुवा माछा कृषक भवानीशंकर यादवले बताए । नेपाली किसानको पोखरी सुकाउने बेला तस्करले पनि भारतीय माछा ल्याउँदैनन्, उनले भने, तर जब नेपाली किसानको पोखरीमा पनि माछा तयार भएर बिक्री गर्ने जसरी अवस्था हुँदै जान्छ, त्यसरी नै तस्करहरूले पनि भारतीय माछा ल्याउने गरेको उनको आरोप थियो ।
धान र गहुँको सिजनका बेला जसरी भारतीयहरूले धान, चामल गहुँको तस्करी गर्दै नेपाली किसानको बजार बिगार्नमा तस्कर लाग्ने गर्छन्, त्यसरी नै अहिले माछामा पनि समस्या देखिन थालेको छ । सीमा क्षेत्रबाट मोटरसाइकल र गाडीमा माछा भित्रिने गरेको छ, तर नेपाली प्रशासन मुक दर्शक बनेको छ ।
यो नेपाली किसानलाई उद्यमी व्यवसायी बनाउँदै उत्साही बनाउनु भन्दा गरिब मजदुर बनाई राख्न नेपालको नीति नै हो ? कि प्रश्न गर्दै उनले भने, नेपाल आफैमा कुनै खाद्यमा आत्मनिर्भर छैन, भारतबाट आयात हुने नै गर्छ, तर नेपाली किसानको बाली हुने बेला नै तस्करी गराउने नेपालमा तस्कर माफियाहरू सलबलाउने कारण नेपाली प्रशासन भारत परस्त हो ? कि भारतीय प्रभावको अगाडी नतमस्तक हो ? बुझ्दै गाह्रो भयो, उनले दुखेसो पोखे ।
उनका गत वर्ष पनि नेपाली माछा तयार भएर बेच्ने बेला नै तस्करी मौलाएको थियो । नेपाली किसानलाई राहत पुग्ने गरी माछाको सरकारी समर्थन मूल्य निर्धारण गर्न सरकारी संयन्त्र नै बन्यो, तर मूल्य निर्धारण नहुँदै सो समिति निष्क्रिय रह्यो ।
अहिले नेपालका माछा पालन किसानहरूको भेला गरी माछा पालन कृषक महासङ्घ बनाउने योजनामा छौ, उनले भने, यसपछि महासङ्घले नै सरकारसँग नेपाली किसानको हितमा काम गर्ने योजना छ । गत वर्षको अनुभव सँगाल्दै व्यवस्थित गरी माछा पालन क्षेत्रफल बिस्तार गरेका छन् ।
उन्नत प्रजातिका माछाले राम्रो आमदानी गर्न सक्ने अघिल्लो वर्षको सिकाइले अहिले माछा क्षेत्रफल १६ बिघामा विस्तार गर्दै पोखरीका लागि आवश्यक व्यवस्थित पूर्वाधार थपेको बताए । गत वर्ष प्रति कट्ठा पँगास माछा (बैखी) २० क्विन्टल उत्पादन भयो, उनले भने, अहिले अझै प्रविधि र वैज्ञानिक विधि अपनाइएको छ,प्रति क्विन्टल ३५ क्विन्टल उत्पादन लिइने लक्ष्य छ ।
चैत्र महिनामा प्रति केजी भुरामा १ सय ८७ वटा थिए,अहिले चार महिनामा दुई वटा पिस मात्रै एक केजी हुन थालेको छ । तिन महिनामा एक पिस माछा एक केजी भन्दा बढी हुने आशा गरिएको छ ।
नेपालमा भारतको आन्द्र प्रदेशबाट बैखी(पँगास) माछाको माग बढी हुने हुँदा सो माछा नेपालमै उत्पादन गरी नेपाली बजारमा आपूर्ति गर्ने गरी कृषक यादव परीक्षण स्वरूप बैखी माछाको पालन सुरु गरेका थिए ।
सो प्रजातिको माछा थोरै क्षेत्रफलमा बढी आमदानी भई रहेको र बजारमा देखिने समस्याबारे पनि अध्ययन पश्चात् अहिले त्यसको क्षेत्रफल विस्तार गर्न लागिएको सुनाए । नेपालमा यस्तो माछाको उत्पादन गर्न कठिन छ,भन्ने गर्थे, उनले आफ्नो अनुभव सुनाउँदै भने,तर गरे पछि नेपालमा पनि सहजै उत्पादन गर्न पनि सकिँदो रहेछ ।
तर माछाको बजारमा केही माछा व्यापारीको एकाधिकार हुँदा बजारको समस्याले यहाँका कृषि प्रावधिकहरूले माछा किसानलाई पँजास माछाका लागि प्राय सिफारिस नगर्ने गरेका छन् । समस्या उत्पादनको छैन,बजारको पनि छैन,उनले थपे, समस्या बजारमा एकाधिकारको छ ।
त्यो पनि सबै भन्दा बढी माछा खपत हुने काठमाडौँको कालीमाटीमा रहेको देखियो । तर विभिन्न सङ्घर्ष पछि कालीमाटीका व्यापारीले नेपालमा उत्पादित माछा पनि खरिद गर्ने अवस्थामा आएको उनले सुनाए । समस्याबाट भाग्ने होइन,समस्याको समाधान खोज्न तिर लागियो भन्ने विकल्प भेटिन्छ नै, त्यो भएर अब आफूले फेरी क्षेत्रफल विस्तार गरी सो माछा पालन गर्ने योजना अगाडी सारेको सुनाए ।
पंगास माछा अन्य माछा जस्तै थोरै थोरै मारेर(हार्वेस्ट) गरेर बिक्री गर्न सजिलो छैन। एकै पटक पोखरी भरिकै माछा मार्नु पर्छ,किन भन्ने ती माछा बढी संवेदनशील हुन्छन् । पोखरीको एक दुई माछा मरियो भन्ने बचेका माछा दाना नै नखाने हुँदा तौल घटेर उत्पादन जोखिम हुने गरेको सुनाए ।
त्यसैले ठुलो माछाको माछा एकै पटक खपत गर्नका लागि ठुलो बजार चाहिन्छ । त्यो बजार काठमाडौँ,पोखरा,नारायणबाट जस्ता बजार हुन् । तर त्यहाँ भारतबाट तस्करी गरी ल्याइने माछाको हालीमुहाली हुँदा नेपाली किसानले उत्पादन गरेको माछाले प्रवेश नै नपाउने अवस्था थियो ।
तर अहिले कृषि मन्त्रालयसम्म नै त्यसको समाधानका लागि सङ्घर्ष गर्दा समाधान भेटियो । गत वर्ष डेढ करोडको माछा बिक्री पनि गरियो । नवलपरासी माछा उत्पादक कृषक सङ्घका अध्यक्ष समेत रहेका यादवले भने, पहिला माछा व्यवसायी सङ्घको आफ्नो हालीमुहाली मात्रै थियो ।
नेपालमा भारतीय माछाले बजार पाउने तर नेपाली किसानको माछा बिक्री नहुने अवस्था रहेको थियो । पछि नेपालका किसानले उत्पादन गरेका माछा विभिन्न क्षेत्रबाट दबाब हुन थाले पछि खरिद गर्न उनीहरू बाध्य भएका थिए ।
कालीमाटीमा मात्रै दैनिक २५ मे.ट.माछा खपत हुन्छ, त्यसको ७० प्रतिशत औपचारिक माछा पैठारी भारतबाट हुन्छ, अनौपचारिक तस्करीको माछाको त तथ्याङ्क नै छैन । अध्यक्ष यादवका अनुसार भारतको आन्द्र प्रदेशबाट प्रति केजी ५५ रुपियाँमा माछा ल्याएर नेपाली बजारमा भारतीय माछा छ्याप छ्याप्ती बनाइने र नेपाली किसान पोखरीमा माछालाई दाना खुवाउँदै बस्ने अवस्था विद्यमान छ ।
प्रति केजी ५५ (भारु) अर्थात् ८८ रुपियाँको माछा नेपालमा भित्रिदा प्रति केजी दुई सय भन्दा बढी मूल्यमा बिक्री हुने गर्छ । यसले गर्दा अहिले पनि भारतबाट कालीमाटी बजारमा मात्रै दैनिक ५० लाखको माछा खपत हुने गरेको छ, जसमा माछा व्यवसायीलाई दैनिक २८ लाख नाफा हुने अवस्था छ,त्यही भएर माछा व्यवसायीहरूले भारतीय नेपाली किसानको माछा भन्दा भारतीय माछालाई प्राथमिकता दिइने गरेका छन् । तर भारतबाट आउने माछा तिन महिनासम्मको बासी माछा र केही रसायनबाट संरक्षित गरेर आउने माछा आम उपभोक्ताका लागि अस्वास्थ्यकर रहेको छ ।