काठमाडौं, ५ साउन ।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न राज्यले आफ्नो सोच र नीति निर्माणको शैलीमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्।

नेपाल उद्योग परिसंघ का नवनिर्वाचित पदाधिकारीहरूसँग सोमबार खुमलटारस्थित आफ्नै निवासमा भएको भेटमा उनले निजी क्षेत्रको भूमिकालाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।
अध्यक्ष प्रचण्डले भने, “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन। राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।”
उनले राज्यको ‘माइन्डसेट’ परिवर्तनको आवश्यकता औंल्याउँदै निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीति बनाउन जोड दिए।
भेटमा सीएनआईका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदान र प्रचण्ड प्रधानमन्त्री हुँदा रहेको सहकार्य वातावरणको स्मरण गर्दै, आगामी दिनमा पनि निजी–सरकारी सहकार्य मजबुत हुनुपर्नेमा जोड दिएका थिए।
अध्यक्ष प्रचण्डको भनाइले समृद्धिको मार्गमा निजी क्षेत्रलाई राज्यको साझेदारको रूपमा स्वीकार गर्नुपर्ने सन्देश दिएको छ।




