© २०२३
नेपालगञ्ज, ५ साउन ।
क्यान्सरले अकालमै जीवन गुमाएकी महिला विकास निरीक्षक विन्दु कुँवरको स्मृति कोठा निर्माण तथा क्यान्सर पीडितलाई सहयोगार्थ चिया अभियानको तयारी गरिएको छ । “एक कप चिया, एक जीवन, एक परिवर्तन“ भन्ने नारा बोकेको यस अभियानमार्फत विन्दुको सम्झनालाई जिउँदो राख्दै समाजसेवाको भावलाई विस्तार गर्ने उद्देश्य लिइएको छ । विन्दु कुँवर फाउन्डेशन र वालक्लवका पूर्वसदस्यहरूले मिलेर गठन गरेको सहयात्री नेपालले आगामी साउन ९ गते शुक्रबार नेपालगञ्जको त्रिभुवन चोकमा चिया अभियान सञ्चालन गर्ने जनाएको छ ।
सोमवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सहयात्री नेपालका प्रतिनिधिहरूले अभियानको बारेमा जानकारी दिएका थिए । अभियान अन्तर्गत त्रिभुवन चोकमा चियाको स्टल राखिनेछ, जहाँ सर्वसाधारणले निःशुल्क चिया पिउन सक्नेछन् ।
चिया सेवन गर्ने इच्छुक मनकारी र सेवाभावी व्यक्तिहरूले भने स्वेच्छिक रूपमा क्यान्सर पीडितको सहयोगका लागि आर्थिक योगदान दिन सक्नेछन् । सहयात्री नेपालका कोषाध्यक्ष सल्मान सल्मानीका अनुसार अभियानबाट संकलित रकमको ८० प्रतिशत निलसागर सेवा आश्रमलाई प्रदान गरिनेछ, जसबाट आश्रमको भवन निर्माणमा सहयोग पुग्नेछ ।
सो भवनको एक कोठालाई स्वर्गीय विन्दु कुँवरको स्मृति कोठाको रूपमा नामकरण गरिनेछ। बाँकी २० प्रतिशत रकम भने क्यान्सर पीडितहरूलाई प्रत्यक्ष सहायतास्वरूप खर्च गरिने सहयात्री नेपालकी सदस्य स्वयता गुरुङले जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अभियानलाई सामाजिक उत्तरदायित्व र भावनात्मक सम्बन्धको उत्कृष्ट उदाहरण भन्दै प्रशंसा गरे। कार्यक्रममा विन्दु कुँवरकी छोरी सम्विधा थापाको समेत उपस्थिति रहेको थियो, जहाँ आमाको योगदानप्रति भावुक स्मरण गरिएको थियो ।
यस अभियानले केवल आर्थिक सहयोग मात्र होइन, सम्वेदनशीलता, सद्भाव र सामाजिक एकताको सन्देश पनि फैलाउने अपेक्षा गरिएको छ । क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेका व्यक्तिहरूलाई आत्मबल दिने र स्वर्गीय विन्दु कुँवरको योगदानलाई समाजमा अविस्मरणीय बनाउने यो अभियान एक प्रेरणादायी यात्रा बन्ने देखिएको छ ।
विन्दु कुँवर महिला विकास निरीक्षक भएर बाँकेमा लामो समय सम्म सामाजिक कार्य र महिलाको न्याय सुनिश्चितताका लागि आफन्तभावले समर्पित रही कार्यरत थिइन् । ५ वर्ष पहिले क्यान्सरका कारण उनको निधन भएपनि उनका योगदान स्मरणीय छन् ।