© 2026
बुटवल, ५ साउन ।
बुटवलमा सोमबार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको आयोजनामा प्रारम्भिक जाँच र सचेतना जगाउने उदेश्यका साथ बुटवल वडा नं. २ कार्यालय परिसरमा शिविर गरिएको हो ।
शिविरको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरभित्रका सामाजिक संघसंस्थाहरूबाट शिक्षा, स्वास्थ्य र सामुदायिक सचेतनामा दिएको योगदान प्रशंसनीय भएको बताए । नगरप्रमुख खेलराज पाण्डेले लक्षित वर्गको पहिचान गर्दै समयमा सचेत गर्ने गरि गरिएका यस्ता कार्यक्रमको प्रभावकारीता हुने बताए ।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष चिरञ्जिवि श्रेष्ठले यस वर्ष संस्थाबाट वार्षिक कार्ययोजना अनुसार स्वास्थ्य अभियान अन्तरगत कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष सुनिल शाक्य, कार्यक्रममा लायन्स डिष्ट्रिक ग्याट टिम लिडर खिम बहादुर हमाल, तिलोत्तमा मायादेवीकी अध्यक्ष सिता श्रेष्ठ, कार्यक्रम संयोजक उपेन्द्रमान श्रेष्ठ, सचिव काशिराम ज्ञवालीले शिविर अभियान क्रमशः विस्तार गरेर अन्य वडाहरुमा समेत लग्नुपर्ने बताए ।
नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा भएको शिविरमा करीब एक सय बढि गृहिणी महिलाहरु सेवा लिएको कार्यक्रम संयोजक तारा श्रेष्ठले बताईन । शिविरमा गाइनेकोलोजिस्ट सतिस रुपाखेती, स्वास्थ्यकर्मी पदमा श्रेष्ठ र सुस्मा श्रेष्ठको टोलीबाट सहयोग भएको थियो ।