© २०२३
लमही, ०४ साउन ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष दाङ जिल्ला समितिको आयोजनामा गढवा बजारमा रहेका विभिन्न लघुवित्त संस्थाहरूमा भेटघाट र छलफलका लागि पुगेका लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिले ब्यानर तोडफोड गरेका छन् ।
सङ्घर्ष समितिका अनुसार, लघुवित्तमा जम्मा गरिएको बचत रकम ऋण चुक्ता गरेपछि पनि बचत फिर्ता पाउन नसकिएको गुनासो गर्दै सङ्घर्ष समिति/ बचतकर्ताहरू आक्रोशित बनेका हुन् । लघुवित्त बैङ्ककर्मीहरूले समूहमा रहेका सम्पूर्ण सदस्यहरूले कर्जा चुक्ता नगरेसम्म अन्य सदस्यहरूको समेत बचत रकम फिर्ता गर्न नसक्ने नीति भएको बताएका छन् ।
सङ्घर्ष समितिले जानकारी दिएअनुसार भेटघाट तथा छलफलका लागि गएका टोलीलाई कुनै पनि लघुवित्त संस्थाले सकारात्मक प्रतिक्रिया नदिएको र धेरै कार्यालयहरूमा ताला लगाइएको भेटिएको थियो । यसपछि सङ्घर्ष समिति/बचतकर्ताहरू थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
आफूले कर्जा चुक्ता गरिसक्दा पनि बचत रकम नपाएको भन्दै सङ्घर्ष समिति बचतकर्ताहरूले गढवाका विभिन्न लघुवित्त कार्यालयमा भेटघाटका नाममा प्रदर्शन गरेका थिए । तोडफोड हुनसक्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।