काठमाडौं, ४ साउन ।
सभामुख देवराज घिमिरेले संसारभर फैलिएका नेपालीलाई एकताबद्ध गर्न संस्कृति र कलाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। आइतबार संसद् भवनमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ कार्यक्रममा सहभागी भई विभिन्न देशबाट आएका कलाकारहरूसँगको भेटमा उनले यस्तो धारणा राखे।

सभामुख घिमिरेले नेपालीपनको जगेर्नामा यस्ता अन्तर्राष्ट्रिय सांस्कृतिक पहलले ठूलो योगदान पुर्याएको बताए। उनले भाषा, संस्कृति र साहित्यको संरक्षण नै नेपालीको पहिचान जोगाउने मुख्य आधार भएको उल्लेख गर्दै सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिए।
भेटका क्रममा उनले भुटानबाट नेपाली मूलका नागरिकहरू लखेटिएको प्रसंग उठाउँदै ती शरणार्थीप्रति नेपालले देखाएको सद्भाव सम्झिए। साथै, उनले निरंकुश राजतन्त्रकालमा नेपालमा अभिव्यक्ति स्वतन्त्रता, कला, साहित्य र सांस्कृतिक गतिविधिमाथि कडा नियन्त्रण भएको स्मरण गरे।
सभामुखका अनुसार अहिलेका कार्यक्रमहरूले विगतको पीडा बिर्सनु नभई, त्यसबाट आत्मबोध लिएर नेपाली एकता, चेतना र संस्कृतिको सशक्तिकरण गर्न सघाइरहेका छन्।




