© २०२३
काठमाडौं, ४ साउन ।
साताको पहिलो दिन आइतबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। कारोबारको क्रममा नेप्से ५२ अंकले उचालिएर २९२२ अंकसम्म पुगे पनि बिक्री चाप बढेपछि अन्ततः अघिल्लो दिनकै २८७० अंकमा फर्किएर बन्द भयो।
तर अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा सूचक २.८७ अंक घटेर २८६७ मा झरेको थियो। समायोजनपछि नेप्से ०.३२ अंकले मात्र उकालो लाग्यो।
बजारमा उतारचढाव भए पनि कारोबार रकम भने उत्साहजनक रह्यो। आइतबार २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो, जुन ११ महिनयताकै उच्च हो। यसअघि साउन ३२ गते २९ अर्ब ९५ करोडको कारोबार भएको थियो।
१०५ कम्पनीको मूल्य बढ्दा १४४ कम्पनीको घट्यो। फाइनान्स समूह सबैभन्दा धेरै २.२६% ले ओरालो लाग्यो भने अन्य समूह ३.३६% ले उकालो लाग्दै सबैभन्दा बढी वृद्धि देखियो। बैंकिङ, हाइड्रोपावर, उत्पादन, माइक्रोफाइनान्सलगायत समूहहरूमा सामान्य गिरावट आएको छ।
सान्भी इनर्जी, शिवश्री हाइड्रो, विन्ध्यबासिनी हाइड्रोलगायत पाँच कम्पनीको मूल्य १०% ले उक्लियो। उन्नती सहकार्य लघुवित्त, ट्रेड टावर, सिटी होटल, नेपाल माइक्रो इन्स्योरेन्स जस्ता कम्पनी पनि शीर्ष लाभमा परे।
समृद्धि फाइनान्स, दोर्दीखोला हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावरजस्ता कम्पनीको मूल्यमा भने सबैभन्दा धेरै गिरावट आयो।
रकमका आधारमा सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, बुटवल पावर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर परे। हाल बजारको पूँजीकरण ४७ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ।