सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई पूर्ण रूपमा सरकारबाट अलग राख्न नसकिने बताएका छन्। आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त हुनुपर्ने भए पनि सरकारसँग केही न केही रूपमै जोडिनुपर्ने आवश्यक रहेको स्पष्ट पारे।
उनका अनुसार सञ्चार क्षेत्रमा मर्यादा र अनुशासन कायम गर्न स्वतन्त्र संयन्त्र आवश्यक छ, तर त्यसले सरकारसँगको सम्पर्क पूर्णतः तोड्न सक्दैन। मन्त्री गुरुङले साइबर अपराध बढिरहेको भन्दै चिन्ता पनि व्यक्त गरे। उनका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धी उजुरी दर्ता भएका छन्, जसमध्ये आधाभन्दा बढी बैंकिङ कारोबारसँग सम्बन्धित छन्।
सामाजिक सञ्जालमार्फत हुने अपराध नियन्त्रण गर्न छुट्टै विधेयक संसदमा दर्ता भइसकेको जानकारी पनि उनले दिए। राष्ट्रिय सभाबाट पारित भइसकेको मिडिया काउन्सिल विधेयकमाथि समितिले सैद्धान्तिक छलफल सकाएको छ र अब संशोधनकर्तासँग छलफल गर्ने तयारी छ।





