© २०२३
काठमाडौं, ४ साउन ।
धरहरा अवलोकनको समय थप भएसँगै अवलोकनका लागि आउनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ। साउन १ गतेदेखि धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला गरिपछि अवलोकनकर्ताको भीड उल्लेख्य रूपमा बढेको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाई, सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए।
पहिले धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुला थियो। उक्त समयमा दैनिक झण्डै ११ सय जनाले धरहरा चढ्ने गरेका थिए। तर, साउन १ गतेदेखि ३ गतेसम्मको तीन दिनको अवधिमा ८ हजार ६ सय ३८ जनाले धरहरा अवलोकन गरेका छन्। तीमध्ये साउन १ गते २५ सय, २ गते २ हजार ६ सय ३१ र ३ गते ३ हजार ५ सय ७ जना रहेका छन्। यस अवधिमा टिकट बिक्रीबाट १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ आम्दानी भएको इकाईले जनाएको छ।
२०७८ मङ्सिरदेखि २०८२ असार मसान्तसम्मको अवधिमा धरहराबाट कुल ५ करोड १२ लाख ६२ हजार ९ सय ९५ रुपैयाँ राजस्व संकलन भएको छ। समय विस्तारसँगै धरहरा चढ्नेको सङ्ख्या थप बढ्ने अपेक्षा गरिएको छ।