© 2026
काठमाडौं ४ साउन ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। केही दिनअघि उनले इमेलमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो राजीनामा बुझाएको अखिल नेपाल फुटबल संघ एन्फा स्रोतले जानकारी दिएका छन्।
एएफसी महिला एसियन कप छनोटका क्रममा उज्बेकिस्तानमा भएका घटनाक्रमबारे स्पष्ट जानकारी पाउन एन्फाले वाइल्डलाई पत्र पठाएको थियो। सो पत्रको जवाफ स्वरूप वाइल्डले राजीनामा पठाएका हुन्।
हाल एन्फा अध्यक्ष पंकज नेम्वाङ हाल बाहिर रहेकोले कोचको राजीनामाको विषयमा के गर्ने भन्ने निर्णय एन्फाले नगरिसकेको सोतले जनाएको छ । एसियन कप छनोटको समयमा कप्तान चयनसम्बन्धी विवादले प्रशिक्षक वाइल्ड र नेपाली टिम व्यवस्थापनबीच तनाव उत्पन्न भएको थियो।
एक अन्तर्वार्तामा वाइल्डले एन्फामा सुधार नआए आफू नेपाल नफर्कने स्पष्ट पारेका थिए र त्यहाँबाट आफ्नै देश बेल्जियम प्रस्थान गरेका थिए।
नेपाली टोली स्वदेश फर्किएपछि हेड अफ डेलेगेट्स, टिम म्यानेजर र सहायक प्रशिक्षकहरूले पत्रकार सम्मेलन गर्दै कप्तान चयन र अन्य विवादमा मुख्य प्रशिक्षक वाइल्डलाई नै दोषी ठहर गरेका थिए।
एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसलाई सहज रूपमा पराजित गरेको थियो भने उज्बेकिस्तानसँग ३–३ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा पछि परेको कारण एसियन कपमा छनोट हुन सकेन।