Butwal Today

पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण

४ श्रावण २०८२, आइतबार
अ+
अ-

सैनामैना, ४ साउन ।

बोलबम बोलबमको मन्त्र जप्दै शनिबार सैनामैना–३ को कालिरहबाट जल ल्याएर पर्रोहा बोलबम धाममा अर्पण गरिएको छ ।

स्वयंम् उत्पत्तिमान् पर्रोहा परमेश्वर शिवजोर्तिलिङ्ग बोलबम धाममा एक महिने श्रावणी मेला तथा जलार्पण कार्यक्रम चलिरहेको छ ।

साउन महिनाभर बोलबम धाम मन्दिर व्यवस्थापन समितिको आयोजनामा पैदाल यात्रा गरी विभिन्न प्रसिद्ध तीर्थस्थलबाट जल ल्याएर धाममा जलार्पण गर्ने परम्परा रहेको छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि गुरुपुर्णिमादेखि मन्दिरमा श्रावणी मेला तथा जलार्पण कार्यक्रम सुरु भएको हो । गुरुपुर्णिमाको दिन कपिलवस्तुको लक्ष्मणघाटको पैदाल यात्राबाट जलार्पण कार्यक्रमको उद्घाटन भएको हो ।

सोही अनुरुप शनिबार हजारौको संख्यामा भक्तजनले सैनामैना नगरपालिका–३ मा अवस्थित धार्मिक तीर्थस्तथ कालीरह दहबाट कलश र कवंण्डमा जल ल्याएर शिवलिङ्गमा चढाएका छन् ।

पहेलो गेरुवस्त्र लगाई पञ्चेबाजा, भजन–कृतन, साँस्कृतिक झाँकी सहित तिर्थायात्रीहरु खाली खुट्टा हिड्दै बोलबम बोलबमको नारा जप्दै धाममा आएर विधिपूर्वक पुजाअर्चना गरेका हुन् । श्रावण महिनाभर यसरी जल चढाएपछि मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

धाम व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर कार्कीले पशुपतिपछिको पर्रोहा मन्दिरलाई धार्मिक अस्थाको केन्द्र बनाउन यस वर्ष विशेष अभियानमा लागेको बताए । यस खालका धार्मिक कार्यक्रममा धर्मसास्कृतिको जगेर्ना गर्नुका साथै सामाजिक एकता कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई छ ।

उनका अनुसार विगतका वर्षमा देशभरका प्रख्यात धार्मिक तीर्थस्थलबाट जलार्पण यात्रा गरिदै आएको थियो भने यस वर्ष स्थानीय क्षेत्रका धार्मिक तीर्थस्थलहरुलाई प्रवद्र्धन गर्न नजिकका स्थलहरुमा धार्मिक तथा जलार्पण कार्यक्रम राखिएको हो ।

मन्दिरमा नन्दी भगवानको प्राणप्रतिष्ठा अनुरुप दैनिक विशेष पुजाआजा र ७ गते भव्य पुजाअर्चना अयोजना गरिएको छ । श्रदालुहरुले विशेष रुद्रीमा पुजामा सहभागी भएमा आफूले अन्जानमा गरेका पापहरु पखालिएर नष्ट हुने र सिधै वैतारणी जाने धार्मिक विश्वास रहेकाले सबै भक्तजनहरुलाई सहभागी हुन आग्रह गरे ।

धामले यसवर्षको बोलबम यात्राको तालिका पनि सार्वजनिका गरेको छ । जसको पहिलो यात्रा कपिलवस्तुको लक्ष्मण घाटबाट सुरु भएर शनिबार सैनामैनाको कालिदह (लामीरह) को पैदाल बोलबम जलार्पण यात्रा सम्पन्न गरिएको छ ।

यस्तै अबको बोलबम यात्रा नवलपरासीको त्रिवेणी, रुपन्देहीको रामघाट, तनहुँको देवघाट, गुल्मीको रिडी ऋषिकेश, पाल्पाको राम्दी लगायतका स्थानहरुबाट गंगाजल ल्याई शिव मन्दिरमा जलापर्ण गर्ने कार्यक्रम रहेको छ ।

धाम परिसरमा मेला अवधिभर दैनिक शिव महापुरण, कथा प्रवचन, रुद्राभिषेक, होम, दैनिक आरती, भजनकृतन र धार्मिक साँस्कृतिक कार्यक्रम चलिरहेको छ ।

साउन महिनाको सोमबार र शनिबार लाखौको संख्यमा दर्शनार्थीहरुको भिडभड हुने गर्दछ जसमा स्थानीय क्षेत्र, छिमेकी जिल्ला र देशका विभिन्न ठाउँ लगायत मित्र राष्ट्र भारतबाट पनि श्रदालु भक्तजनहरुले जलापर्ण गर्ने गर्दछन् ।