© २०२३
काठमाडौं, ०३ साउन ।
नेकपा एमालेको पोलिटब्युरो बैठक शनिबार दोस्रो दिन पनि पार्टी मुख्यालय च्यासलमा जारी छ। शुक्रबारबाट सुरु भएको बैठकमा पार्टी विधान संशोधन प्रस्तावमाथि नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ।
शुक्रबारको बैठकमा आठ जना सदस्यले संशोधन प्रस्तावमाथि आफ्ना विचार राखेका थिए।
हालको बैठकमा ७० वर्षको उमेर सीमा र अध्यक्षको दुई कार्यकाल सम्बन्धी व्यवस्था प्रमुख बहसको विषय बनेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र सक्रियता बढाएसँगै उक्त प्रावधानप्रति प्रश्न उठ्न थालेको हो।
यद्यपि, सचिवालय बैठकले यी दुवै प्रावधान हटाउने निर्णय गरिसकेको छ, जसले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि उम्मेदवार बन्ने मार्ग खुला गरिसकेको छ।
भण्डारी पक्षधर नेताहरूले सचिवालयको निर्णयमा पुनर्विचार गर्दै त्यसलाई परिमार्जन गर्नुपर्ने आवाज उठाइरहेका छन्। अर्कोतर्फ, ओली पक्षधरहरू भने सो प्रस्तावलाई यथावत पारित गराउने प्रयासमा छन्।
यो बैठक सकिए लगत्तै साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्दै छ। उक्त बैठकले आगामी विधान महाधिवेशनमा पेश गरिने संशोधन प्रस्तावलाई अन्तिम रूप दिनेछ।
एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुँदैछ।