© २०२३
काठमाडौँ, ०३ साउन ।
नेपालमा दैनिक २.५५ किलोमिटरका दरले सडक बन्ने गरेको पाइएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण अनुसार यस आवमा कुल ९ सय ३२ किलोमिटर सडक कालोपत्रे भएको छ ।
यो यस वर्ष राखिएको लक्ष्यभन्दा माथि रहेको भौतिक मन्त्री देवेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार पछिल्लो ६ वर्षयता भौतिकले सबैभन्दा धेरै ७६.४१ प्रतिशत प्रगति गर्न सफल भएको छ ।
यसमध्ये ८ अर्ब ६६ करोड बराबरको काम भने अघिल्ला आवमा सम्पन्न भई भुक्तानी मात्र यस वर्ष भएको हो । यो वर्ष चालु आवमा भने ठुलो भुक्तानी दायित्व नसरेको उनले जानकारी दिए ।
पूर्वपश्चिम नारायणघाट–बुटवल खण्डमा १ सय १३ किलोमिटर कालोपत्रे सम्पन्न गर्ने भनिएकोमा ६० किलोमिटर चार लेन र ३३.५ किलोमिटर २ लेन कालोपत्रे भएको छ । अहिले दाउन्ने बाहेक क्षेत्रमा प्रगति राम्रो रहेको मन्त्री दाहालले दाबी गरे ।
यो अवधिमा मध्य पहाडी राजमार्गका विभिन्न खण्डमा ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा ५८।५ किलोमिटर मात्र कालोपत्रे भएको छ ।
हुलाकी राजमार्गका विभिन्न खण्डमा ७५ किलोमिटर लक्ष्य रहेकोमा ९२.५ किलोमिटर कालोपत्रे भइसकेको छ । कर्णाली कोरिडोरमा २० किलोमिटर ग्राभेल सडक निर्माण लक्ष्य रहेकोमा लक्ष्य अनुसार काम भएको छ ।
कालीगण्डकी कोरिडोरमा ५० किलोमिटर कालोपत्रे सक्ने भनिएकोमा ७१ किलोमिटर कालोपत्रे भएको मन्त्रालयको तथ्याङ्क छ ।