© २०२३
चन्द्रौटा, ०३ साउन ।
कपिलवस्तुको खेतमा पसिना बगाइरहेका छन्–नेत्रविक्रम चन्द । जो कहिल्यै भिजेको माटोसँग जोडिन सायद कल्पना गरिन्थ्यो । तिनै चन्द नेतृत्वको ‘विप्लव’ जो कहिले बारुदको राजनीतिमा अग्रपङ्क्तिमा थिए । अहिले उनी हिलो, माटो र पानीसँग रमाइरहेका छन् ।
देशभर ‘धान रोपौँ, उत्पादन गरौँ’ भन्ने नारा मात्रै होइन । व्यवहारमै कार्यान्वयन गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले उत्पादनलाई राजनीतिक एजेन्डाको केन्द्रमा राखेको छ । विप्लवको नेतृत्वमा अहिले देशका दर्जनौँ जिल्लामा सामूहिक खेती, पशुपालन र बाली उत्पादन भइरहेको छ । यो परिवर्तन एक नेताको मात्र नभएर आन्दोलनको दिशा परिवर्तनको सङ्केत पनि हो ।
हरेक पार्टी सङ्गठनका आ–आफ्ना नीति, विचार र सिद्धान्त छन् । सोही अनुसार नेपाल कम्युनिष्ट पार्टीले टेकेर राजनीतिसँगै गतिविधि अघि सार्ने गरेको छ । (नेकपा) ले देशव्यापी धान रोपाइँ गर्ने अभियान सञ्चालन गरेको छ । त्यसै अन्तर्गत विप्लवको गृह जिल्ला कपिलवस्तुमा पनि २० बिघा क्षेत्रफलमा धान रोपाइँ भइरहेको छ ।
पार्टीलाई आत्मनिर्भर बनाएर देश निर्माणको अभियानको नेतृत्वमा अग्रसर हुन उत्पादन कार्यमा जोडिएको नेकपाले जनाएको छ । पार्टी नेतृत्वदेखि कार्यकर्तालाई श्रम र उत्पादनमा जोड्ने नीति अनुसार उत्पादन अभियान जारी रहेको नेत्रविक्रम चन्दले बताए ।
नेकपाका महासचिव चन्द ‘विप्लव’ ले भने– “हामीले बन्दुक बिसाएर कोदालो उठाएका छौँ । अबको लडाइँ माटो र उत्पादनको हो ।” धान रोपाइँ गर्दै उनले थपे– “राजनीति अब भाषणले होइन, श्रम र सिर्जनाले परिणाम दिनुपर्ने समय हो । हामी त्यसै दिशामा लागेका छौँ ।”
देश आत्मनिर्भर हुन्छ भनेको यही हो—नेता र कार्यकर्ता माटोमा पसिनासँगै सिञ्चित हुन्छन् । अब स्वदेशमै श्रमको सम्मानको संस्कृति बसाल्नुपर्नेमा उनले जोड दिए । कपिलवस्तुमा उत्पादन अभियानको निरीक्षण गर्दै विप्लवले भने: “हामीकहाँ नेता धेरै छन्, तर उत्पादनशील नेता कम छन् ।”
उनका अनुसार किसान बाँच्दैन भने देश बाँच्दैन । त्यसैले अब राजनीति किसानसँग जोडिनुपर्छ । सामूहिक खेती, पशुपालन, तरकारी खेती, फलफूल उत्पादन र व्यापारसम्म पनि पुग्नेछ । क्रान्ति अब व्यवहारमा रूपान्तरण हुँदै छ ।
उनले चुनौतीपूर्ण स्वरमा भने– “अरू नेताले देखाउनकै लागि हिलो छोए, हामीले जीवन पद्धतिका रूपमा कृषि अङ्गालेका छौँ ।” रोल्पामा आलु खेतीको गरेको बताउँदै बारुदसँग खेलेको, अब माटोसँग खेल्दैछौं । अब दुबैलाई देशकै लागि समर्पित गरेका छौँ–उनले भने । स्थान अनुसार कतिपय पार्टीका सदस्यहरूको आफ्नै जग्गा रहेको छ भने अधिकांश ठाउँमा लिजमा लिई खेती गरिँदै आएको छ ।
उपभोग नभएका जग्गाहरू लिजमा लिई बार्षिक रूपमा भाडा लाखौँ रकम तिरी माटोलाई उर्वर बनाउँदै उत्पादनमा पार्टी जोडिएको केन्द्रीय सदस्य विनोद लुइँटेलले जनाए ।
हिजोको ‘आन्दोलन’ आजको ‘उत्पादन’
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सशस्त्र आन्दोलन, नेपाल बन्द, चन्दा असुली र भूमिगत सङ्घर्षमार्फत चिनिन्थ्यो । बारम्बार राज्यसँग टकराबमा आउने पार्टीले अहिले खेतमा काम गर्दै उत्पादनको राजनीतिमा पाइला टेकेको छ । यो रूपान्तरण आकस्मिक होइन, बरु परिस्थितिजन्य हो । विगतमा बन्द गराउने नेताको हातमा अहिले कोदालो, बेल्चा र बिरुवा छन् ।
सामूहिक खेती पार्टीको उत्पादन रणनीति
विप्लवको गृह जिल्ला कपिलवस्तु, चितवनको ज्योतिनगर, रोल्पा, कर्णालीका जिल्लाहरू, जुम्ला, कालिकोट, हुम्ला, मुगु, दैलेख, रुकुम पश्चिम लगायत अन्य जिल्लाहरूमा नेकपा (विप्लव) को नेतृत्वमा सामूहिक खेती भइरहेको छ । कतै २० बिघा जमिनमा धान रोपिएको छ भने कतै १३ हजार वर्ग मिटर जमिनमा २ हजार स्याउका बिरुवा रोपिएका छन् । कालिकोटको फोईमा मात्र ५ सय ओखरका बिरुवा रोपिएको छ । यस्ता प्रयासहरू नेपाली कृषिमा वैकल्पिक सोचको सुरुवात हुन् ।
माटोले बोलेको तस्बिर
असार १५ मा सामाजिक सञ्जालमा एक तस्बिर भाइरल भयो । खेतको आलीमा बसिरहेका विप्लवको त्यो तस्बिरमा न अभिनय थियो, न फोटो सेसन । त्यो थियो श्रमको क्षण, जहाँ नेता नेताबाट श्रमिकमा रूपान्तरण भइरहेका थिए । फेसबुक, ट्विटर, इन्स्टाग्राममा ‘विप्लवको माटो बोकेको राजनीति’ को चर्चा चल्यो । विप्लवको तस्बिरमा माटो बोलेको महसुस हुन्छ । माटोसँग गाँसिएको सच्चा तस्बिर हो ।
उत्पादनबाट परिवर्तनको संकेत्
नेपालकै धनी उद्योगी विनोद चौधरीलाई २ लाख किलो आलु बिक्री गरेपछि विप्लवको अर्को ‘क्रान्तिकारी’ चर्चा चुलिएको छ । विगतमा बमको निर्माणमा रुचि राख्ने भनिने नेता अहिले बाली बेच्दै छन् ।
‘आलु बम’ भन्ने व्यङ्ग्य अब व्यावसायिकताको नयाँ प्रतीक बनेको छ । पार्टीका केन्द्रीय सदस्य लुइँटेलले भने: “राजनीति मात्रै गरेर हुँदैन, उत्पादनमा जोडिनुपर्छ । देशको बाँझो जमिन उपयोग गर्दै आत्मनिर्भरता तर्फ उन्मुख यो प्रयास राजनीतिक दर्शन मात्रै होइन, व्यवहारिक मोडेल पनि हो ।”
आत्मनिर्भरताको सन्देश
विप्लवले ‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता’ भन्ने नारासहित खेती अभियान चलाइरहेको छ । जुम्ला, कालिकोट, मुगु, सल्यान, दैलेख, रुकुम पश्चिममा स्याउ, ओखर, धान, कोदो, फलफूल, तरकारी, भेडा, गाई, कुखुरा सबैमा हात हालेको छ ।
कालिकोटमा २० लाखमा ९० भेडा किनेको नेकपाले अहिले भेडाको सङ्ख्या १ सय १८ पु¥याएको छ । यी सबै प्रयासहरू पार्टीलाई आत्मनिर्भर बनाउन, कार्यकर्तालाई श्रममा अभ्यस्त गराउन र जनतालाई जोड्न हुन् ।
श्रमिक नेताको नमुना
विप्लव भन्छन्–‘नेताले भाषण मात्रै होइन, खेत जोत्न जान्नुपर्छ’ यही भनाइमा उनी राजनीतिको वैकल्पिक मोड खोजिरहेका छन् । जनतासँग जोडिन भाषण होइन, पसिना चाहिन्छ भन्ने मान्यता चन्दले व्यवहारमा उतारेका छन् । उनको यस्तो कार्यशैलीले राजनीतिमा नेताको भूमिका बदलिएको छ । कागजी घोषणा होइन, खेतको हिलोले जनताको विश्वास जित्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।