© २०२३
सल्यान, ०३ साउन ।
किसान लक्षित अनुदान तथा प्रोत्साहन कार्यक्रम प्रभावकारी बनेपछि सल्यानका विभिन्न पालिकामा उत्पादन र आम्दानी बढ्न थालेको छ । दार्मा र त्रिवेणी गाउँपालिकाका किसानहरूले पशुपालन र दूध उत्पादनबाट मात्र चालू आर्थिक वर्षमा करिब सात करोड बढी आम्दानी गरेका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा दार्मा गाउँपालिकाबाट ९६६ जना किसानले खसी, बोका र दूध बिक्री गरेर ३ करोड ४४ लाख ३७ हजार ८८४ रुपैयाँ आम्दानी गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीका अनुसार पालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत दूधमा प्रति लिटर ८ रुपैयाँ र खसी बोकामा प्रति किलो ५० रुपैयाँ अनुदान दिँदै आएको छ । “अनुदान सिधा किसानको खातामा जान्छ, यसले उत्पादन र आम्दानीमा वृद्धि भएको छ,” अध्यक्ष केसीले भने ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसम ओलीका अनुसार ४१४ जना किसानले २ लाख ४९ हजार ६१० लिटर दूध बिक्री गरी १ करोड ३७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन् ।
त्यस्तै ५५२ जना किसानले ३९ हजार ७४२ किलो खसी बोका बिक्री गरी २ करोड ६ लाख ८७ हजार ८८४ रुपैयाँ कमाएका छन् । दार्माले पशुजन्य उत्पादनको सङ्कलन तथा बजारीकरण सहकारीमार्फत गर्ने व्यवस्था मिलाएको छ ।
क्वारेनटाइनसहित निश्चित सङ्कलन केन्द्रमार्फत पशुजन्य उत्पादनको बजार पहुँच बिस्तार गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले नयाँ आर्थिक वर्षदेखि अदुवा र बेसारमा पनि प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
यसै गरी जिल्लाकै त्रिवेणी गाउँपालिकाका किसानहरूले खसी बिक्रीबाट मात्रै ३ करोड २६ लाख ४३ हजार ६०३ रुपैयाँ आम्दानी गरेका छन् । समूह तथा सहकारीमार्फत बिक्री गर्ने किसानहरूलाई पालिकाले प्रतिकिलो २० रुपैयाँ अनुदान दिँदै आएको छ ।
अध्यक्ष खिम बहादुर रावतका अनुसार व्यापारीहरूद्वारा मनपरी मूल्य तोकिँदा किसान मारमा परेका थिए । तर सहकारी प्रणालीमार्फत बजारीकरण सुरु भएपछि किसान सन्तुष्ट भएको उनले बताए ।
पशु विकास शाखाका प्रमुख वसन्त रावतका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ३०८ जना कृषकलाई १० लाख ८० हजार ९२० रुपैयाँ अनुदान दिइएको छ । दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीका १२० जना कृषकलाई पाँच लाख २८ हजार २२० रुपियाँ अनुदान प्रदान गरिएको छ ।
यो सहकारीमा आबद्ध किसानहरूले एक करोड ४६ लाख १६ हजार ७८५ रुपियाँ बराबरको खसी निर्यात गरेका छन् ।यस्तै नमुना सामाजिक उद्यमी महिला सहकारीबाट ७३ जना कृषकहरूलाई अनुदान बापत दुई लाख ३२ हजार १२० रुपियाँ दिइएको छ भने यो सहकारीबाट ७० लाख ४२ हजार १८४ रुपियाँ बराबरको खसी निर्यात भएका छन् ।
पशु विकास शाखाका अनुसार उपहार सामाजिक उद्यमी महिला सहकारीबाट ६२ जना कृषकहरूलाई एक लाख ८७ हजार ४०० रुपैयाँ अनुदान दिइएको छ भने यो सहकारीबाट ७१ लाख ५२ हजार ४६४ रुपियाँ बराबरका खसी बिक्री भएका छन् ।
यसै गरी त्रिवेणी पशुपालन व्यवसायी सहकारीबाट ५३ जना कृषकहरूलाई एक लाख ३९ हजार ८३९ रुपियाँ अनुदान दिइएको छ भने ३८ लाख ३२ हजार १७० रुपियाँ बराबरको खसी निर्यात भएको छ ।
अघिल्लो वर्षको तुलनामा त्रिवेणी गाउँपालिकाले झन्डै १ करोड रुपैयाँ बढीका खसी निर्यात गरेको छ । पालिकाले पकेट प्याकेज कार्यक्रमअन्तर्गत वडा नं. २, ४ र ५ लाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरिरहेको छ ।
व्यवस्थापनको लागि सहकारीलाई पनि प्रतिकिलो १ रुपैयाँको दरले सहयोग रकम उपलब्ध गराइएको छ । स्थानीय सरकारले सञ्चालन गरेका पारदर्शी र उत्पादनमा आधारित अनुदान कार्यक्रमहरूले गाउँमा रोजगारी, आत्मनिर्भरता सँगै व्यावसायिक कृषि प्रणालीको विकासमा योगदान पु¥याएको देखिन्छ ।