Butwal Today

कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’

न्युयोर्कमा आगामी जुलाई २७ मा सम्मान गरिने
३ श्रावण २०८२, शनिबार
अ+
अ-

काठमाडौं, ०३ साउन ।

यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड नेपालका दुई विशिष्ट व्यक्तित्व—कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई प्रदान गरिने भएको छ। अमेरिकाको न्युयोर्कमा जुलाई २७ तारिखमा ग्लोबल नेपालीद्वारा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिनेछ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी सुधार ल्याएका थिए। उनको दृढ नेतृत्व, रणनीतिक सोच र कार्यक्षमताका कारण नेपालले दशकौँसम्म झेल्दै आएको लोडसेडिङको अन्त्य भएको हो।

उनले देशलाई ‘अँध्यारोबाट उज्यालो’तर्फ डो¥याएपछि सर्वसाधारण जनताको मन जित्न सफल भएका छन्।

त्यस्तै, सामाजिक अभियन्ता तथा युवा नेता ज्ञानेन्द्र शाही लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छन्। सुशासन, पारदर्शिता र जनहितका विषयमा स्पष्ट र निर्भीक धारणा राख्दै आएका शाही सामाजिक रुपान्तरणका लागि निरन्तर लागिरहेकै छन्।

ग्लोबल नेपाली संस्थाले हरेक वर्ष विभिन्न क्षेत्रमा प्रेरणादायी योगदान पुर्‍याउने नेपालीहरूलाई सम्मान स्वरूप ग्लोबल हिरो अवार्ड प्रदान गर्दै आएको छ। यसपटक राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको विशिष्ट योगदानका लागि घिसिङ र शाहीलाई यो अवार्ड प्रदान गर्न लागिएको हो।

समारोहमा विश्वभर रहेका नेपालीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।