ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

पर्या निबन्धको चर्चा

३ श्रावण २०८२, शनिबार
३ श्रावण २०८२, शनिबार

सात सय ५० मूल्य पर्ने पर्या निबन्ध सङ्ग्रह हिमालय बुक हाउस बुटवलका सञ्चालक माधव गौतमले ६ सय ७५ रुप्पे नगदमा दिए । मैले छोरोसँगै पुस्तक किन्दाको एउटा फोटो झ्याप्पै खिचेर आफ्नो फेसबुकवालमा पोष्ट्याइ हाले । त्यो कुरो २०८२ साल असार २२ गते आइतवार साँझ ६ बजेतिरको हो ।

घरमा आएपछि एक दुई अध्याय पढें । फुर्सद हुँदा दुई, चार पाना पल्टाउँदै गएँ । तर, एकोहोरो नपढ्दा धीतै मरेन । अनि असार ३१ गते मंगलवारको विहान ९ बजे मोबाईललाई अफ गरेपछि नारिएँ पढ्न । साँझको पाँच बज्नै आँट्दा प्रकाशकीय, सम्पादकीय र निबन्ध क्रमबाहेकको चार सय ८१ पृष्ठ पढेर तुरिए छ ।

निरन्तर ८ घण्टाको अविश्राम अध्ययनले नेपालको पहिलो पर्या निबन्ध सङ्ग्रह, पानापाना पल्टाउँदै गर्दा खुसीले बुर्कुसी मारिरह्यो । बुटवलमा बस्दै गरेको मान्छे म, पूर्वतिर लागेको भए–पुग्थें हुँला आठ घण्टामा संघीय राजधानी काठमाडौंको धूलो खान ! उत्तरतिर हेलिएको भए पोखराको फेवातालमा डुङ्गा खेल्न पुग्थें ।

पश्चिमतर्फ हान्निएको भए बाँके, बर्दिया राष्ट्रिय निकुञ्जतिर बाघ हेर्न भ्याउँथें हुँला । दक्षिण भारततिर लागेको भए, सुनौली,गोरखपुर हुँदै बनारसतिर पुग्थें कि गोबरको थुप्रो कुच्न !

डाक्टर गोविन्दराज भट्टराई र विजय हितानको सम्पादन र साहित्यपोष्टको प्रकाशन रहेको उक्त खँदिलो, पठनीय, सङ्ग्रहणीय र हितकर पुस्तक पढ्दाको पठन अनुभूति लेख्न पाउँदा चङ्गाजस्तै मन उडिरहेको छ ।

पुस्तक पढिरहँदा मनमा अनेक तर्कना खेले । डा.गीता त्रिपाठी, महेश पौड्याल र भूपेन्द्र खड्का निर्णायक भएर पर्या निबन्धको छनौट र पुरस्कारका लागि सिफारिस गरेका रहेछन् ।

देशभरिबाट एकसय आठवटा पर्या निबन्ध (संयोग पनि कस्तो ? एक सयआठ धारा, एक सय आठ वरपीपल चौपारी) प्राप्त भएकोमा ३२ वटा निबन्धले यो पुस्तकमा छापिने अवसर प्राप्त गरेका छन् । तीनवटा निबन्धले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी बाक्लै पुरस्कार हात पारेको खबरले मनै फुरुङ्ग भो ।

बाँकी २९ वटा निबन्धले मसी खर्च पाएका रहेछन् । उनीहरूका रचना पनि कम्तिका थिएनन् । कुनैकुनै निबन्धले त पुरस्कृत निबन्धलाई नै चुनौती दिएका थिए । निबन्धका आफ्नै नियम, सीमा, परिधि छन् । कति निबन्धहरू तिनै साँचामा परेनन् होला र पुरस्कृत हुनबाट बञ्चित भएको हुनुपर्छ ।

यी सबै कुरा, निबन्धहरू पढेर, मनमा गुनेर, बुझेर नै भनेको हुँ । निबन्धकारहरू र निर्णायकहरूमाथि मेरो कुनै गुनासो र गन्थन पनि छैन । कच्चा निबन्धहरू पढ्नु,त्यसलाई बुझ्नु र निर्णयको तराजुमा राखेर जोख्ने काम सामान्य ठान्दिनँ म ।

नेपालमा पहिलोपटक प्रकाशित पर्या निबन्धले वन, वातावरण र जैविक विविधताका साथै पर्यासाहित्य बुझ्न इच्छुकहरूलाई भरेङको काम गर्नेछ । यही भरेङ चढेर नेपाललगायत सिंगो विश्वको पर्यावरण र पर्याजगतलाई नियाल्न सक्नेछन् । यो नै यो पुस्तकको गाँठी कुरो हो ।

पर्याजगतलाई निबन्धको घेरोभित्रमात्र तौलिनु र जोखिनु पनि न्यायपूर्ण हुँदैन । यसका विराटरूपलाई साहित्यका विविध विधाहरूमा समाहित गर्दै लैजानुपर्ने आजको आवश्यकता हो । यो एउटा पहिलो अभ्यास र प्रयासलाई हामीले स्वीकार्नुको विकल्प छैन । धेरैले जानेको तर नबुझेको विषय नै पर्यावरण हो ।

यसलाई भुइँमान्छेसम्म पुराउनका लागि पर्यासाहित्यको माध्यम सहज र सरल हुन सक्ने कुरामा दुईमत छैन । त्यसका लागि साहित्यपोष्टको योगदान अतुलनीय छ । जसले पर्यासाहित्यलाई आफ्नो अनलाईनमा प्राथमिकता र प्रोत्साहन दिइरह्यो । पर्यासाहित्यमा कलम चलाउन उत्प्रेरित र पुरस्कृत गरिरह्यो । यो नै उत्तम कर्म हो ।

पृथ्वीको तापमान बढिरह्यो । खरानीजस्ता हिमालहरू अङ्गारजस्ता भए । हिमतालहरू फुट्न थाले । भौतिक र मानवीय क्षति ब्यहोर्नुपर्ने अवस्था आइरहेका छन् । वनजंगलमा बाघ,भालु,स्याल,दुम्सी,बंदेलको रजाइँ चल्न थालेपछि वनका छिमेकी मान्छेहरू त्रहीमाम भए ।

अन्न, भकारीमा हाल्ने सपनाहरू तुहिए । बाँदरले बसिखान दिएन । मकै लगाउँदा उसैको हित, केरा लगायो उसैलाई पाहुर । कसौंडीको भात बोकेर कटहरको रुखमा भान्सा गर्ने उही बाँदर ।

बाँदरलाई वनमा बस्न नदिनका लागि दोलखा, कालिञ्चोक वडा नं. ८ ले वन मास्न गरेको निर्णयलाई २०७९ माघ २७ गते सम्मानित अदालतले रोक लगाएको कुरा निबन्धकार विश्वनाथ रिजालले आफ्नो निबन्ध ‘प्रकृतिमा बाँदर र मानवको सहअस्तित्व’ मा लेखेका छन् ।

वनमा डढेलो लाएर बसी नसक्नू । खोलाका छेउमा दिसापिसाव गरेर सत्यानाश । पिउने पानी,छुनै घीन लाग्दो । वन मासिएर गाउँतिर आएको हो कि घरचाँहि वनतिर लागेको हो पत्तै पाउन कठिन भएको कुरा कितावमा प्रशस्तै पढ्न पाइन्छन् ।

वन, वातावरण र जैविक विविधता जोगाउने कुरा तारे होटलमा हुन्छन् तर तारेभीरमा डोजरले बिनामेसै खनेर ताक्लु बनाउँदा कसले रोक्ने ? दीलिप वान्तवाले बिराटनगरदेखि काठमाडौं हवाइजहाज चढेर जाँदा डाँडाकाँडाहरू चोटग्रस्त देख्छन् । नखोस्रेका कुनै डाँडाकाँडाहरू भेटाउँदैनन् ।

जताततै किरिङमिरिङ देखिने धर्र्साेजस्तै बाटाहरू खनिएका र तिनले राम्रैगरी भूक्षय गराएका दृश्यहरू प्रष्टै देखेको आफ्नो निबन्ध ‘सांखामचुली, गिद्ध टेम्के’ मा लेखेका छन् ।

गंगटालेजस्तै खोला उधिनेर विपत्ता पार्दा रमिते छन् सबै । ठेकेदारको अघि कसले बोल्ने ? बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने कसले ? वन मासेर विकास डाँडो फाँडेर निकास खोज्ने नौलो आयाम ? जिम्मेवार निकाय, जिम्मेवार हुन नसकेको निबन्धकारहरूले लेखेका छन् तर उनीहरूका जिज्ञासा,प्रश्न र चासोको उत्तर कसले दिने ? यही छ अर्को प्रश्न ।

प्रश्नद्वारा परिवर्तन सम्भव छ तर समय लाग्न सक्छ,यो पुस्तकको एउटा सन्देश यो पनि हो ।जन्मेदेखि मर्दापछिसम्म चाहिने यही वातावरण हो । तर दिनप्रतिदिन वातावरण प्रदूषित हुँदैछ । यसको कारण हजारौं मानिसहरू आज श्वासप्रश्वासका रोगी भएका छन् । ओखतीपानी गर्दागर्दै उठिबास भएका छन् ।

निरोगी कसरी हुने कुरा पहिलो सर्त हुनुपर्ने हो तर बिरामीको चाँखे थापेर बस्नेहरूलाई वातावरण प्रदूषण नै आम्दानीको गतिलो स्रोत बन्न पुगेको छ । यो कुरा पुस्तकमा उठेका छन् । चिन्ता छन् मस्तै । चिन्तन कमजोर ! विदेशमा बसेरपनि विजय हितानले नेपालको पर्यासाहित्यमा आफ्नो योगदान गरेकै छन् ।

डा.भट्टराईले चिन्तन गर्न छाडेका छैनन् । साहित्यपोष्टले आफ्नो भूमिकामा चर्को दावी पेश गरेकै छ । अब त केही हुन्छ कि भन्ने भरोसा जागेको छ । हिम्मत पलाएको छ । उत्साह जागृत भएको छ । आफ्नै आयूको लम्बाई बढ्ने कुरामा ढुक्क हुन मन लागेको छ ।

किन प्राथमिकतामा पर्दैन,पर्यावरण संरक्षणका कुरा, किन यथेष्ट बजेट छुट्टिनन् संरक्षणका लागि ? सरकार गठन हुँदा वन तथा वातावरण मन्त्रालय पार्टीका प्राथमिकतामा किन पर्दैनन् ? विनास नगरिकन विकास हुन्न भन्ने कस्तो भाष्य तयार हुँदैछ ? वातावरण हाम्रो सम्पत्ति हो भन्ने कुरा किन बुझ्दैनन् मानिसहरू ? वातावरण हामीले पाएको उपहार हो, भोलि हाम्रा सन्ततिहरूलाई फिर्ता गर्नुपर्छ भनेर किन बुझाउन सकेका छैनौं हामीले ?

पाएकोभन्दा थपेर दिनुपर्ने कुरामा किन पाएजति सबै तुर्ने हो भन्ने गलत सोचाई मानिसमा हावी भयो ? किन बुझ्दैनन् र किन बुझाउन सम्भव भएन, संरक्षणका सवालहरू ? बागमति मासिएपछि बुद्धि पलाएकाहरूले खर्वौं रुप्पे बाग्मति बचाउन खर्चिनु परेको कुरा किन बुझ्दैनन् ? कृषि इञ्जिनियर हुतराज वैद्यको नेतृत्वमा बाग्मति बचाउ अभियान चलेको सबैलाई थाहा भएकै विषय हो । उनले ‘बाग्मति बाँचिरहोस्’ नामक पुस्तक लेखेको छन् ।

बाग्मति बचाउनका लागि सरकारी,गैरसरकारी एवम् सचेत नागरिकहरूले गरेको हातेमालोका बारेमा कुमुद श्रेष्ठले ‘अब बाग्मति फेरि हाँस्छ’ निबन्धमा गजवले लेखेका छन् ।

मृत हुन गइरहेको तिनाउलाई जीवित र समृद्ध बनाउन किन बाग्मतिबाट पाठ सिक्न सकिदैन ? यी साझा सवालमा सचेत गराउने कुरा यो पुस्तकको अर्को बलियो पक्ष हो । यही विषयमा घनिभूतरूपले छलफल भइरहेका छन् ।

गाउँमा बाटाहरू पुग्न थालेपछि आस्थाका रूपमा रहेका वरपीपल चौपारीहरू नै नासिन थालेको कुरालाई बढो कलात्मक रूपमा पुरुषोत्तम दाहालले ‘अकाल मृत्युबाट बाँचेको वरपीपल’ निबन्धमा उल्लेख गरेका छन् । उनी लेख्छन्–कालो फोक्सो भएको ब्यक्तिको मन पनि त कालो हुन्छ ।

उनको निबन्धमा वरपीपलको महत्व,यसको ऐतिहासिकता, किंवदन्तिलाई मज्जाले केलाइएको छ । वरपीपललाई पुज्नेदेखि यसको हांगाविंगाहरूले उन्नत खेतीमा पार्ने असरका बारेमा समेत उल्लेख गरिएको छ ।

द्वन्द्वात्मक शैलीमा लेखिएको उक्त निबन्धले नयाँ पुस्ता र पुरानो पुस्ताबीचमा दरार कसरी सिर्जना हुँदोरहेछ भनी सन्देश प्रवाह गरेको छ ।बाटो फराकिलो पार्ने नाउँमा वरपीपल र चौतारा मासिए । चौतारा नासिएपछि सातु र सर्वत खुवाउने चलन नासियो ।

बैसाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गाउँका हजुरआमाहरू त्यी चौताराहरूमा बसेर बटुवाहरूलाई सातु,सर्वत खुवाउँथे । भोको पेटमा सातु र सर्वत अमृततुल्य हुन्थ्यो–अतीय सम्झिदै तारानिधि भट्टराईले ‘बालसखा गुमाउँदाको पीडामा’ मनै छुने तर विद्रुप पीडा लेखेका छन् ।

चराको चिन्ता गर्दै अनिता न्यौपाने आफ्नो निबन्ध ‘त्यसपछि चराहरू हराउने छन्’ मा लेख्छिन्–हलबाट फिलिम हराएजस्तै, हातबाट घडी हराएजस्तै, दलिन वा काँधमा झुण्डीका रेडियो हराएजस्तै, गाउँबाट युवा हराएजस्तै र बाटोबाट चौतारो हराएजस्तै एक दिन यो सुन्दर संसारबाट चराहरू हराउने छन् ।

संसारलाई सुन्दर बनाइराख्ने चरा नै हो भन्ने उनको ठहर छ । पर्यावरण स्वच्छ रहेमा नै जैविक विविधता कायम रहने छ । नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको संरक्षण हुन नसकेमा के हालत होला ? चराले चिनाएको नेपालको परिचय कहाँ रहला र ? आठ सय ९० प्रजातिका चरा पाइने नेपाल,यही चरा देखाएर पनि पालिन सक्छ । चरा पर्यटन सम्भव देख्छिन् उनी ।

कहिलेकाँही मनमा अनेक तर्क विर्तक खेल्छन् । चिन्ता, पीर हुन्छन् । यही वातावरणमा पाइने चराका संगीत सुनेर होस् वा नदीका कलकल आवाज सुनेर होस् वा पहाडमा सुसेलिने हावाले मनमा आनन्द आउन सक्छ । मनको थेरापी नै यही हुन सक्छ । प्रकृति रहे त हो नि संस्कृति जोगिने । संस्कार र सभ्यता अडिने ।

जवानीमा मोज गर्न नपाउँदा कुकुर पनि डिप्रेसनमा पर्न सक्ने कुरा ‘रोगी नबनाई राख्नुपर्छ’ शीर्षकको निबन्धमा अनिता पन्थी लेख्छिन् । सायद यो पृथ्वीमा रहने हरेक प्राणी,वनस्पतिका आफ्नै जीवनकला छन् । जीवनलीला छन् । मान्छेले आफूलाई सर्वोकृष्ट प्राणी आफैले ठान्यो तर प्रकृति र पर्यावरणको दोहोन गर्न छाडेको छैन ।

बुझेर पनि बुझ् पचाउने प्राणी नै मान्छे बन्दैछ । मान्छेले पर्याचक्रीय सन्तुलनमा हिमालको स्थान र योगदानलाई बुझेर अन्तर्राष्ट्रिय हिमाल वर्ष–२०२५ आरम्भ गरेको छ । बल्ल मानिसले म रहनुपर्छ भन्ने होस् चेत खोल्दैछ । आँखाले देखिने असरले नै मानिसलाई बुझ्न र बुझाउन बाध्य पार्दोरहेछ ।

यो कुरा ‘साझा घरको माया’मा दीपकप्रसाद ढकालले उल्लेख गरेका छन् । प्रथम भएको निबन्ध ‘प्रलयको आँधीबेहरी’ मा भवानी खतिवडा लेख्छिन्–नबिसौं, आफैभित्र कसिङ्गर पर्दा मात्र होइन, खुट्टामा चोट लागेपनि आँसु झार्ने आँखा नै हो । दुःखी हुँदा रुने पनि आँखै हो । खुसी हुँदा मुस्कुराउने पनि आँखै हो ।

हातको जीतमा रमाउने वा छालाको हारमा सुक्सुकाउने पनि आँखै हो । मान्छे यो धरतीको आँखा हो । उसैले नै यो धरतीलाई बचाउनुपर्छ । अप्ठ्यारो परिस्थितिबाट जोेगाउनु पर्छ ।

यो निबन्ध पढेपछि हामी मान्छेलाई पर्यावरण जोगाउने ठूलो जिम्मेवारीबोध हुन्छ । मान्छेमा भएको प्रकृतिप्रेमी भावनालाई उजागर गर्दै पर्यावरणलाई जोगाउने अभियानमा अग्रगामी रूपमा मान्छे नै लाग्नुपर्छ भन्ने सन्देश प्राप्त हुन्छ ।

पर्या–चेतको निम्ति अब बोध गर्नैपर्ने कुरा हो– मान्छेले परोक्ष साक्षात्कार गर्ने, देख्ने र भोग्ने ईश्वर वा ईश्वरीय रूपक नै प्रकृति हो । त्यो जल, जंगल एवम् जमिन हो । बौद्ध पर्या–चेतले आत्मशोषण अर्थात् आफ्नै आत्माको शोषणलाई समर्थन गर्दैन,यसको अर्थ स्रोतको संरक्षण भन्दै पानी नपिउने हठी हुनुपनि प्रकृति कै शत्रु बरोबर हो ।

त्यसैले प्रकृतिको संरक्षणमा सबैलाई समाहित हुन अपील गरेका छन्–हरिबोल काफ्लेले आफ्नो द्वितीय भएको निबन्ध ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन ?’ मार्फत् । त्यसैगरी तृतीय भएको निबन्ध ‘विकास :प्राप्तिको श्रृंखला या पश्चातापको पुनर्बोध’ को सहारामा निबन्धकार गोविन्द गोपाल खतिवडा भन्छन्–धागोबाट छुट्टिएको चङ्गाको स्वतन्त्रता र प्रकृतिबाट पृथक् भएको मानवीय स्वतन्त्रतामा ज्यादा भिन्नता म देख्दिनँ । अझ् भनुँ,छैन पनि ।

सुँघ्ने शक्तिमा मानिसभन्दा अफ्रिकी हात्ती, कुकुर, भालु र सार्क माछा ज्यादै शक्तिशाली हुन्छन् । मान्छेले भन्दा आठ गुना टाढा हेर्न सक्छ चीलले । सुन्नमा चमेराको मानिसभन्दा दश गुना बढी क्षमता छ । यो कुरा ‘प्रकृति र मानिस’ शीर्षकको निबन्धमा रूपसिंह भण्डारीले बयान गरेका छन् ।

रूपा थापाले ‘माफीना’ मार्फत् भन्छिन्–मान्छे एक अर्कासँग इतिहास भरि लडिरह्यो । लडाइँमा क्षेप्यास्त्र प्रहार भए र यो धरतीको वातावरणलाई अझै् खल्बलाई रहे । सायद बिनासकारी युद्धले नै प्रकृति र संस्कृतिलाई नामेट बनाउँदैछ । कुनै दिन धरतीमा धान,मकै र गहुँजस्ता अनाज उब्जन छाडे भने,फलफूल र तरकारी फल्न छाडे भने मान्छेले के खाएर बाँच्ला !

यतिसम्म चिन्ता गरेका कुमार काफ्लेले । जथाभावी जंगल मास्नु,ज्यामितीय अध्ययनबिना भीर भत्काउनु र खोला लयमा बग्न नदिनु ध्वंश हो । मान्छे प्रकृतिसँग जिस्किदा पृथ्वीको सुरबेसुर भएको छ । विश्व कार्बन उत्सर्जनमा नेपालको हिस्सा ०.०२७ प्रतिशत् छ ।

तर,असर भोग्नेमा नेपाल विश्वको १० औं स्थानमा रहेको कुरा सुनाउँदै थिए लक्ष्मण वियोगीले । यति भयाभव स्थिति कसरी आयो त ? गम्भीर भएर कसैले सोचेका छन् र ? धरतीको प्राकृतिक नियम बिग्रियो भने भविष्यमा मानव अस्तित्व नै संकटमा पर्ने देखेपछि हामीहरू जुरमुराएका हौं ।

हामी धरतीलाई हैन, जनावर, बोटबिरुवालाई हैन, आफूलाई बचाउन यो सबै नाटक गरिरहेका छौं । यही नाटकले गर्दा धरतीमा संकटको रातो बत्ती बल्न थालेको छ । यी कुरा राजु अधिकारीले ‘रातो बत्ती’ निबन्धमा विस्तृत बयान गरेका छन् । अत्यन्तै रोचक ढंगले आफ्नो प्रस्तुति दिएका छन् ।

जलवायु परिवर्तनको असरले नेपालका हिमाली क्षेत्रहरूका पर्यटन व्यवसायीहरू तथा पर्यटकहरूको संख्यामा व्यापक गिरावट आउने छ । भयंकर चुनौती थपिने छ । यसले नेपालको पर्यटन व्यवसायमा ठूलो संकट निम्त्याउँदैछ । यो कुराको भविष्यवाणी कुनै ज्योतिषीले हैन राजेन्द्रमान डङ्गोलले गरेका छन् आफ्नो निबन्धमा ।

पर्यावरणीय नारीवादी आन्दोलन मार्फत् वृक्षरोपण गरेरै वातावरण जोगाउन सकिने दलील प्रस्तुत गरेकी छिन् प्रभा बरालले । पुँजीवादी विकार नै जलवायु परिवर्तनको मुद्दा रहेको उनको तर्क छ । ‘चिन्ताको चितामा जिउँदो चेतना लिएर जल्दा त भत्भती पोल्दो रहेछ’ अनिता कोइरालाले भन्दैथिइन् ।

‘बाह्र वर्षपछि पनि खोला फर्किएन भने ?’ के गर्ने भनेर ऋतेश गुरुङले देश,दुनियाँलाई गजवले प्रश्न सोधिरहेकै छन् । जल प्रदूषणबाट जोगिने कसरी ?,सोध्दैछिन् निबन्धकार कुञ्जदेवी उपाध्याय । मलाई त खोलामा लगाईका तटबन्धहरू खोलाका निम्ति हत्कडी हुन् ।

भेषराज बुढाथोकीको उक्त तर्कमा सहमति जनाउन मन लाग्यो । ‘मेरो अँधेरी खोला’ निबन्धमा दुर्गादेवी थापाले विगतलाई सम्झिएर विरहको गीत गाएकी छिन् । सन्तानलाई देखाउन पुग्दा त अँधेरी खोला भेटिनन् हिजोजस्तो ।

जतिसुकै ज्ञान,शिपर्शन र सिद्धान्तका बाह्रहाते गफ फलाके पनि जीवन भनेकै पानीले धानेको रैछ त नि ! बोमबहादुर थापाको यो चोपिलो वाक्यले पानीको महिमालाई प्रष्ट पारेको छ । पानी नै जिन्दगानी रहेछ ।

आमन्त्रित निबन्धकारका रूपमा आफूहरूलाई सहभागी गराएका छन्–डाक्टर गोविन्दराज भट्टराई,मनप्रसाद सुब्बा, प्रा.डा.विष्णु एस राई,ज्ञानबहादुर छेत्री,महेश पौड्याल र विजय हितानले । उनीहरूका निबन्धले सुनमा सुगन्ध छर्किएका छन् । पुस्तकलाई थप वजनदार र पठनीय बनाएको छ ।

सायद उनीहरूका निबन्ध, उदाहरणीय र सिकारुलाई मानक निबन्धका रूपमा प्रस्तुत भएका छन् । पुस्तक पढेर, अनुभूति लेखिरहँदा पहिलो पर्या निबन्ध सङ्ग्रहको निरन्तरता, पृष्ठपोषण, प्रतिक्रिया, सुझाव कस्तो आउला,जान्न मन लागिरहेको छ । पर्यासाहित्यिक विधामा अन्य के आउला भनेर जिज्ञासा जागिरहेको छ मनमा ।

हुन त यसका बारेमा विजय दाइले आफ्नो सम्पादकीयमा धेरै कुरा उल्लेख गरेकै छन् । सिंगो चीरफार त दाइकै सम्पादकीयमा नै छ । यो पुस्तक पढिसकेपछि मेरो मनमा अनेक सवालहरू उठे । ती सवालका जवाफ त कहाँ पाउँला र ? तैपनि यही पुस्तकमा एकोहोरो खोजिरहेको छु । पर्यावरणका बारेमा उठेका सवालका स्रोतहरू यही पुस्तक नै हो भन्ने मेरो ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?