Butwal Today

डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी

२ श्रावण २०८२, शुक्रबार
अ+
अ-

बुटवल, २ साउन ।

डिंगरनगर दूरगामी बहुउद्देश्यीय क्रृण सहकारी संस्थाका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्रोतका अनुसार संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यद्यपि प्रहरीले भने पक्राउ पुर्जीका विषयमा जानकारी दिएको छैन ।

“पक्राउ पुर्जीबारे अहिले भन्न मिल्दैछ, सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान भैरहेको छ, अडिट रिपोर्ट आइसकेपछि थप कारवाहीको प्रक्रिया अगाडि बढ्ला”–उनले भने ।

डीएसपी रानाले पक्राउ पुर्जी जारी भएकाहरुको संख्या र नामबारे अहिले बताउन नमिल्ने बताए । उता रुपन्देही जिल्ला अदालतले पनि पुर्जी जारी भएका व्यक्तिबारे सूचना दिन इन्कार ग¥यो ।

रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानुनी हिसावले पनि पक्राउ पुर्जीबारे जानकारी दिन नमिल्ने बताए ।

उता प्रदेश सहकारी रजिष्टारको कार्यालयले सहकारीको बचत अपचलनका विषयमा छानविन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई पत्र पठाइसकेको जनाएको छ ।

सहकारी दर्ता अधिकारीको कार्यालय लुम्बिनी प्रदेशका प्रमुख सुरेशचन्द्र आचार्यले प्रहरीलाई आवश्यक अनुसन्धान गरी कारवाही अगाडि बढाउन पत्र पठाइसकेको बुटवल टुडेलाई जानकारी दिए ।

सहकारीका उपाध्यक्ष लगायत विभिन्न सञ्चालक सदस्य तथा शेयर सदस्यहरुले बचत अपचलनको छानविन गरी ठगी गर्नेलाई कारवाहीको माग गर्दै यसअघि नै प्रहरीमा जाहेरी दिएका छन् ।

उनीहरुले ठगी गर्नेहरुलाई मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को दफा २४९ बमोजिम कारवाहीको माग गरिएको छ ।

यता, बचतकर्ताले भने आफूहरुको बचत फिर्ताको माग गर्दै दिनहुँ आन्दोलन गरिरहेका छन् ।

दिउँसो र रातको समयमा लगातार आन्दोलन गर्दा पनि निकास ननिस्केपछि उनीहरु संघर्ष समिति नै बनाएर आन्दोलन थप चर्काउने रणनीतिमा छन् ।

सहकारीको करोडौं बचत अपचलन गरी सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा सम्पर्कबिहीन भएपछि बचतकर्ताले कानुनी र सडक आन्दोलनलाई एकसाथ अघि बढाएका हुन् ।

केही दिनसम्म फरार रहेका सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

जिल्ला अदालतले उनलाई शुक्रबार दोस्रोपटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ । उनी एक सातादेखि इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् ।

व्यवस्थापक पराजुलीले आफूसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ देखिएको र उक्त रकम सहकारीलाई तिर्ने कबुलियतनामा २०८२ साल जेठ ५ गते गरिएको थियो ।

त्यसपछि उनलाई संस्थाले निलम्बन गरेको थियो । पराजुलीले तिलोत्तमाको शान्तिचोकमा खाजा खजाना होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

तमसुकमा ऋणी देखाइएका छोरी र छोरालाई नै साक्षी बसालेकोले सहकारीका अध्यक्ष र सचिवले यो कागज गराएर निलम्बित गरेका हुन् वा व्यवस्थापक पराजुलीले आफैँ गरेका हुन् भन्ने तथ्य अडिट रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।