© 2026
काठमाडौं, २ साउन ।
शनिबार रातिदेखि नेपालमा मनसुन सक्रिय हुँदै भारी वर्षा सुरु हुने मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। भारतको उत्तरप्रदेशमा सक्रिय रहेको मनसुनी रेखा नेपालतर्फ सर्दै गर्दा शनिबार रातिदेखि सोमबारसम्म देशभर व्यापक वर्षा हुने प्रक्षेपण गरिएको हो।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीका अनुसार शनिबार दिउँसोसम्म सामान्य वर्षा भए पनि रातिदेखि न्यूनचापीय रेखा नेपालतर्फ सर्ने र त्यसको असर देशभर पर्नेछ। उनले भने, “उत्तर प्रदेश आसपासको रेखा नेपालतिर सर्दैछ, जसले गर्दा भारी वर्षाको सम्भावना छ।”
यसअघि बंगालको खाडीमा उत्पन्न प्रणाली भारतको उडिसा हुँदै नेपालतर्फ सर्दै गर्दा मधेशका केही भागमा मात्र हल्का वर्षा भएको थियो। तर अहिले सक्रिय हुँदै गरेको प्रणाली अझै शक्तिशाली हुने पूर्वानुमान गरिएको छ।
मौसम विभागले भारी वर्षाको सम्भावना रहेको भन्दै काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको चेतावनीसहित ‘एलो अलर्ट’ जारी गरिसकेको छ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलका अनुसार शनिबार दिउँसोसम्म केही स्थानमा हल्का वर्षा भए पनि रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुने र सोमबारसम्म देशभर प्रभाव पर्नेछ। मौसम विभागले स्थिति क्रमशः अद्यावधिक गरिने जानकारी दिँदै आम नागरिकलाई सतर्कता अपनाउन आह्वान गरेको छ।