© २०२३
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्य भन्ने महलमा सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, सञ्चारको हक, न्याय सम्वन्धि हक लगायतका ३२ वटा हक उल्लेख गरेको छ । यसको अन्तिम बुँदामा नागरिकको कर्तव्य समेत उल्लेख गरेको छ ।
कर्तव्यमा राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नुृ, राज्यले चाहेको वखत अनिवार्य सेवा गर्नु र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु कर्तव्य हो भनिएको छ । यसले के देखाउँछ भने हक पनि खोज अनि कर्तव्य पनि पुरा गर भनेको भन्ने बुझिन्छ । हक मात्र होइन कर्तव्य पनि नागरिकको दायित्व भित्र पर्दछ भनेर स्पष्ट उल्लेख गरेको छ ।
संविधानमा उल्लेख भएका हकका कुरालाई हेर्ने हो भने धेरै कुरा राज्यबाट पूरा गर्ने कुराहरू छन् भने केही नागरिक स्वयंले अंगिकार गर्नुपर्ने कुराहरू छन् । एकले अर्कोलाई मान तथा सम्मान गर्नु पर्ने कुराहरू छन् । कहिलेकाँही राज्य चुक्छ । कहिले नागरिक पनि आफै चुकेको देखिन्छ । यही समयमा नागरिक समाजको आवश्यकता पर्दो रहेछ । नागरिक समाजले सरकार र नागरिक दुबैलाई सजग बनाउने गर्दछ ।
यसले कसैको पनि एक पक्षको वारेमा न कुरा गर्छ न कार्य गर्छ । नागरिक समाज भन्नाले यस्तो स्वतन्त्र संस्था हो जुन राज्यबाट स्वतन्त्र रहेको हुन्छ । यो नागरिकहरूद्वारा स्वेच्छिक रूपमा गठन गरिएको संस्था हो । यसलाई लुजफोरमको रूपमा लिने गरिन्छ । यो संस्थाले जनताको आवाजलाई अभिव्यक्त गर्ने र राज्यलाई जिम्मेवार बनाउने काम गर्दछ । खास गरेर नागरिक समाजले मानव अधिकारको संरक्षण गराउन सधै खवरदारी गर्दछ । यो समाज कुनै राजनीतिक दलको भातृसंस्था होइन । राज्यबाट पनि स्वतन्त्र रहन्छ ।
कुनै पनि शक्तिकेन्द्रको निकट रहँदैन । जुन सुकै जात जाति, भाषा भाषि, वर्ग,लिंग, समुदायका व्यक्ति संलग्न रहन सक्दछन् । यसले सरकारका हरेक कार्यकलापमा अनुगमन गर्दछ । जनचेतना फैलाउने काममा यसको महत्वपूर्ण भूमिका रहन्छ । समय सन्दर्भ मध्यस्थताको भूमिका समेत निर्वाह गर्दछ ।
सरकारी स्तरबाट होस चाहे जनस्तरबाट भएका कमजोरीहरू होउन तिनीहरूलाई स्पष्ट ढंगले औल्याउँदै त्यसको सही निकासको निम्ति पहल गर्दछ । विगतका दिनमा नेपालमा नागरिक समाजले खेलेको भूमिका निकै उच्च छ । चाहे जनयुद्धका सममयमा शान्ति प्रकृयामा खेलेको भूमिका होस चाहे नेपालमा राजसंस्थाबाट भएको संवैधानिक हस्तक्षेको अवस्थामा होस ।
या २०६२/ ६३ को जन आन्दोलमा यसले जनाएको सहभागिताहोस्, समग्रमा भन्दा अग्रपंक्तिमा रहेर उच्च भूमिका निर्वाह गरेको थियो भन्न सकिन्छ । यो आफैमा स्वतन्त्र रहेकाले यसले हरेक स्थानमा खवरदायीको भूमिका निर्वाह गरिरहन्छ ।
नागरिक समाज राजधानीमा मात्र स्थापना गर्नुपर्दछ या प्रदेश राजधानीमा संचालन गर्नुपर्दछ या जिल्ला सदरमुकामहरूमा मात्र सिमित हुन्छ कुरा यस्तो होइन ।
यो हरेक ठाउँमा हुनुपर्दछ । यसको आवश्यक्ता जहाँतही रहन्छ । कुनै देश वा राष्ट्रको विधान अनुसार सामाजिक राजनीतिक आदि अधिकार पाएको र संविधानले निर्धारण गरेको कर्तव्यमा रहनु पर्ने सबै व्यक्ति नागरिक हुन भने त्यस्ता व्यक्तिहरूको समुह नै नागरिक समाज हो ।
सचेत व्यक्तिहरूको समुह भएको हुनाले यसले हरेक स्थानमा आफ्नो विवेक सहजै प्रंयोग गर्न सक्दछ । राज्यबाट भएका र हुने सम्भावना रहेका रहेका कुराहरूमा यस समाजले गहन छफफल र विश्लेषण गर्दछ । यसको आधारबाट आम नागरिकलाई कसरी सूसुचित गर्न सकिन्छ भन्ने कुरामा एउटा ठोस निर्णय गर्दछ अनि यसलाई सार्वजनिक गर्दछ । यसले कसैको पक्ष विपक्ष भन्दा पनि सत्य र तथ्यको पक्षमा आफ्नो धारणा व्यक्त गर्दछ ।
हरेक प्रदेश, जिल्ला, पालिका तथा समाजको निम्ति यसको खाँचो पर्दछ । यसकारण हरेक स्थानमा यसलाई स्थापित गर्नुपर्दछ । नागरिक समाज हाम्रो समाजको उपज हो । राज्य र हरेक नागरिकलाई आवश्यक्ता पर्दछ । यसकारण नागरिक समाजलाई साथ सहयोग गर्नु हामी सबैको कर्तव्य हो । नागरिक समाज मेरो पक्षमा बोलेन भन्ने होइन । यो सत्य र न्यायको पक्षमा बोल्नु पर्दछ भन्ने हो । सत्यको पक्षमा बोल्नु पर्दछ । यसको मुख्य काम भनेको यस्तै सत्य र न्यायको पक्षमा आवाज उठाउनु हो ।
राज्यले कहिले नियम उलंघन गर्न सक्छ । नागरिकका आवश्यकता परिपूर्ति नगर्न सक्छ । अथवा आवश्यक्ता परिपूर्तिमा ढिलाई वा वेवास्ता गर्न सक्दछ त्यो समयमा नागरिक समाजले आवाज उठाउने गर्दछ र उठाउनु पर्छ पनि । हरेक स्थानमा यस्ता वेवास्ता र ढिला सुस्तिका कुरा हुनसक्छन् ।
कहिलेकाँही नागरिक स्तरबाट पनि आलटाल वा मुलुकको हितहुने कार्यमा नजर नपुगेको वा पुगेर पनि वेवास्ता गरेको हुनसक्छ । यस्तो अवस्थामा पनि यो समाजले नागरिकलाई आफ्नो कर्तव्यमा उभ्याउन सघाउँछ । राज्य तर्फमात्र नभएर नागरिक तर्फ पनि आफ्नो नजर लगाईरहन्छ ।
यो पनि यसको दायित्व भित्र पर्दछ । प्रायः गरेर अहिलेसम्मको अध्ययन अनुसार नागरिक पक्षबाट भन्दा पनि राज्य पक्षबाट अलमलका कामहरू बढि हुने गर्दछन् भने कहिले काँही विभिन्न राजनीतिक दलहरूबाट नागरिकको हित विपरितका कार्यहरू देखिनसक्छन् ।
हो समयमा निष्पक्ष तरिकाले बोल्न, लेख्ने र सचेत बनाउने काममा यसको अहमभूमिका हुनुपर्दछ । यति महत्वपूर्ण कार्य र जिम्मेवारी रहने भएको हुनाले नागरिक समाज भएन वा यसले आफ्नो दायित्व बुझ्न सकेन वा बुझेर पनि भूमिका निर्वाह गर्न सकेन भने सर्वसाधारण नागरिकको अवस्था कस्तो होला ? त्यसैले जहाँको भए पनि जहिले भए पनि आफूलाई यसमा जोडन सकिने छ ।
नागरिक समाजमा लाग्नु अघि कसैको पक्षमा नलाग्ने वाचा सहित लाग्नु पर्दछ । जहाँ विकृति वा विसंगति भेटिन्छ त्यही ठाउँमा ढिला नगरि नागरिक समाजको आवाज आउनु पर्दछ । नागरिक समाजले न्याय दिने होइन न्यायको पक्षमा बोल्ने हो । कसैलाई काखी च्याँप्ने होइन अनावश्यक तरिकाले कसैले कसैलाई काखी च्याँपेर अनावश्यक लाभ लिन खोजेको छ भने नागरिक समाजले त्यो काखी च्याँप्नेको विरुद्धमा तत्काल आवज उठाउनु पर्दछ ।
हामी लोकतन्त्रान्त्रिक व्यवस्थामा प्रवेश गरे पनि कतिपय नागरिकका व्यवहारहरू जिमुवाल, मुखिया जमानका जस्ता पनि पाईन्छन् । आजभोलीका जिमु्वाल मुखियाहरू हिंजोका भन्दा अझ निर्मम पाइन सक्छन् । हो उनीहरूका निर्मम व्यवहारप्रति पनि नागरिक समाजले औंला देखाउनु पर्दछ । नागरिक समाजको भूमिकाको कुरागर्दा स्वदेशी मामला मात्र होइन विदेशी मामलामा पनि यो समाजले खवरदारी गर्दछ र गर्नु पर्दछ ।
कहिले विभिन्न मुलुकमा हुने गरेका युद्धका कुरा होउन वा एक मुलुकले अर्को मुलुकमा देखाउने वक्र दृष्टि होस वा क्षतिको कुरा होस्, त्यहाँका नागरिकको अधिकार संरक्षणको लागि पनि आवज दिने गर्दछ । यस्तै कहिले हामी जस्ता ठूला राष्ट्रका माझमा रहेका मुलुकहरूमा अनावश्यक हस्तक्षेप हुने गरेका समाचार आइरहन्छन् ।
यस्ता हस्तक्षेपको विरुद्धमा पनि यसको चर्को आवाज आउने गर्दछ । सिमा विवाद गर्ने वा सिमा मिच्ने भए किन दशगजा सिमा निर्धारण गर्नुपरेको छ र ? यस्ता कुराहरूमा पनि नागरिक समाजको एउटै आवाज हुन जरुरी छ । जहाँबाट हेरे पनि जसरी हेरे पनि नागरिक समाज हाम्रो आवाज दिने एउटा सहयोगी संस्था हो । यसको दायित्व अति गहन छ । यो गहनता भित्र तपाई पनि दिलखोलेर रहन सक्नु हुने छ ।