© २०२३
रोल्पा, ०२ साउन ।
रोल्पा नगरपालिकाले अघिल्लो आव ८१ करोड ३३ लाख ६२ हजार रुपैयाँको बजेट पास ग¥यो । जसमध्ये उसको आन्तरिक श्रोत १ करोड ६४ लाख १० हजार ९९० रुपैयाँ मात्रै थियो । कुल बजेटको २ प्रतिशत मात्रै आन्तरिक आय गर्न सफल रोल्पा नगरपालिकाको ९८ प्रतिशत बजेट सङ्घीय र प्रदेश सरकारले उपलब्ध गराएका विभिन्न शीर्षकको बजेट थियो ।
रोल्पा नगरपालिकाले अघिल्लो आर्थिक वर्ष सम्पत्ति करबाट १४ लाख २६ हजार ६६४ आम्दानी गरेको थियो । यस्तै, मालपोत करबाट १५ लाख ९७ हजार ४३२ आम्दानी भएको थियो । व्यवसाय करबाट १ लाख ५६ हजार १०० आम्दानी गरेको उसले घर बहाल करबाट १३ लाख १९ हजार ३४० आम्दानी गरेको थियो ।
नगरपालिकाले मनोरञ्जन करको रूपमा ६५ हजार आम्दानी गरेको थियो । यस्तै, घर जग्गा रजिष्टेशन शुल्क शीर्षकमा २४ लाख २० हजार ३७८ आम्दानी गरेको थियो । नगरपालिकाले सबै किसिमका सेवा शुल्क तथा ढुङ्गा गिट्टीबाट २० लाख ८२ हजार ४४० आम्दानी गरेको थियो ।
दस्तुर शीर्षकमा सिफारिस, प्रमाणित, नक्सा पास आदीमा उसले १० लाख ४३ हजार ५८० आम्दानी गरेको थियो । नगरपालिकाको अघिल्लो वर्षको आन्तरिक आय अन्तर्गत अन्यबाट २२ लाख ८४ हजार ६४२ आम्दानी गरेको थियो । उसले जडीबुटी, कवाडी र जीवजन्तु कर, विज्ञापन कर, सवारी साधन कर र सम्पत्ति भाडा बापतको करबाट शून्य आम्दानी गरेको थियो ।
आव २०८०/०८१ मा रोल्पा नगरपालिकाले ७८ करोड १५ लाख ६८ हजारको बजेट पास गरेको थियो । उसले सो वर्ष विभिन्न ८ वटा शीर्षकमा ५९ लाख ८९ हजार ६७७ आन्तरिक आम्दानी गरेको थियो । आन्तरिक आम्दानीको यो मात्रा नगरपालिकाको कुल वार्षिक बजेटको ०.७६ प्रतिशत मात्रै हो । सो वर्ष रोल्पा नगरपालिकाले ९९ प्रतिशत भन्दा बढी बजेट सङ्घ र प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट खर्च गरेको थियो ।
सो वर्ष उसले सम्पत्ति करबाट २४ लाख ४२ हजार ७७५ रुपैयाँ, मालपोत करबाट ७ हजार ३७५, व्यवसाय करबाट ११ लाख ६५ हजार २९५ आम्दानी गरेको थियो । यस्तै, जडीबुटी, कवाडी र जीवजन्तु करबाट नगरपालिकाले ११ लाख ९९ हजार ८४१ रुपैयाँ आम्दानी गर्दा मनोरञ्जन करबाट एक हजार रुपैयाँ मात्रै आमदानी गरेको थियो ।
नगरपालिकाले सो वर्ष घर जग्गा रजिष्टेशन शुल्कबाट १ लाख १६ हजार ८५८, सबै किसिमका सेवा शुल्क वाट ९ लाख ३९ हजार ६७५ र अन्यबाट १ लाख १६ हजार ८५८ रुपैयाँ आम्दानी गरेको थियो । वितेका दुई वर्ष जिल्लाको एक मात्र नगरपालिका, रोल्पा नगरपालिकाले गरेको आन्तरिक आयको अवस्था चित्रण हो यो । रोल्पा नगरपालिका मात्रै हैन दश स्थानीय तह भएको रोल्पाका सबै स्थानीय तहहरूको आन्तरिक आमदानीको अवस्था यस्तै छ ।
सङ्घीयता कार्यान्वयनमा आएको ८ वर्ष पुरा भइसक्दा सम्म पनि रोल्पाका स्थानीय तहहरूले आफ्नो आन्तरिक आम्दानी बढाउन सकेका छैनन् । सङ्घीय शासनको उद्देश्य स्थानीय तहहरू क्रमशः आत्मनिर्भर हुँदै जाने र अन्तमा आफ्नै श्रोतबाट स्थानीय तह सञ्चालन गर्ने रहे पनि रोल्पाका स्थानीय तहहरूमा यस्तो उद्देश्य पुरा गर्ने सम्भावना असम्भव प्रायः देखिन्छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ६० लाख ५८ हजार आन्तरिक आम्दानी गरेको लुंग्री गाउँपालिकाले आर्थिक वर्ष ०८०/०८१ म ६४ लाख ७८ हजार आन्तरिक आम्दानी गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा आन्तरिक आम्दानी वृद्धि गरेको सो गाउँपालिकाले अपेक्षाकृत आन्तरिक आयमा वृद्धि गर्न सकेको छैन । जिल्लाको परिवर्तन गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ५७ लाख आन्तरिक आम्दानी गरेको थियो । उसले आर्थिक वर्ष २०८१/०८२ मा ५४ लाख ९८ हजार आम्दानी गरेको थियो । उसले सो वर्ष ३९ लाख ५० हजार मात्रै आन्तरिक आयको प्रक्षेपण गरेको थियो ।
आन्तरिक आय वृद्धिका लागि घरदैलो भेटघाट अभियान सञ्चालन गरेका कारण प्रक्षेपण गरे भन्दा धेरै आन्तरिक आम्दानी भयो परिवर्तन गाउँपालिका अध्यक्ष शुकबहादुर बुढामगरले भने । एउटै तरकारी हाट बजारबाट वार्षिक करिब २३ करोडको तरकारी निर्यात गरेर चर्चा कमाएको रोल्पाको रुन्टीगढी गाउँपालिकाको समेत आन्तरिक आम्दानीको अवस्था सन्तोषजनक छैन ।
यसले आर्थिक वर्ष २०८०/०८१ मा ५९ लाख ४९ हजार आन्तरिक आम्दानी गर्दा आर्थिक वर्ष २०८१/०८२ मा ८७ लाख आन्तरिक आमदानी गर्न सफल भएको थियो । अघिल्लो वर्षको तुलनामा आन्तरिक आय वृद्धि भए पनि अपेक्षाकृत आयमा वृद्ध भएको छैन गाउँपालिका अध्यक्ष जनक पुनले भने । सो गाउँपालिको यस अघि किसानहरूबाट लिँदै आएको तरकारीमा लगाइने कर छुट दिएको छ ।
पर्यटनको राम्रो सम्भावना बोकेका जिल्लाका सुनछहरी र थवाङ गाउँपालिको समेत अपेक्षाकृत आन्तरिक आय बढ्न सकेको छैन । सुनछहरी झरणा मात्र हैन, सशस्त्र द्वन्द्वमा एउटै गाउँबाट देशमै सबभन्दा धेरै सर्वसाधारणको मृत्यु भएको जेल्वाङ, गाम जस्ता बस्तीहरू पनि सुनछहरी गाउँपालिकामा पर्ने भए पनि ती क्षेत्रबाट सो गाउँपालिकाले आम्दानी बढाउन नसक्दा आन्तरिक आयमा समेत वृद्धि हुन सकेको छैन ।
आर्थिक वर्ष २०८०/०८१ मा ४३ लाख ७२ हजार मात्रै आम्दानी गरेको सुनछहरी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ६३ लाख आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा आन्तरिक आयमा वृद्धि भए पनि अपेक्षाकृत आम्दानी हुन नसकेको गाउँपालिकाको ठहर छ ।
सशस्त्र द्वन्द्वको केन्द्र मानिन्थ्यो थवाङ । देश सङ्घीयतामा गएसँगै थवाङलाई विशेष क्षेत्र बनाउनु पर्ने बहस चलेको थियो । अन्ततः विशेष क्षेत्र नभई एउटा गाउँपालिकामा सीमित थवाङ रोल्पा जिल्लाकै सबैभन्दा सानो गाउँपालिका हो । थवाङलाई पर्यटनको उच्च सम्भावना भएको पालिकाको रूपमा लिने गरिन्छ ।
थवाङ गाउँ आफैमा पर्यटकीय क्षेत्र हो । यहाँको कला संस्कृति मात्र नभई सशस्त्र द्वन्द्वमा यो गाउँले खेलेको भूमिकाले थवाङ हेर्न आउनेहरूको बाक्लै उपस्थिति देखिन्छ । यसको साथै नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्ये एक पर्ने जलजला थवाङ गाउँपालिकामा पर्छ ।
पर्यापर्यटन, धार्मिक पर्यटन र युद्ध पर्यटनको त्रिवेणी मानिन्छ जलजला । यति महत्त्वपूर्ण क्षेत्र रहेको थवाङ गाउँपालिकाले आन्तरिक आम्दानी भने वृद्धि गर्न सकेको छैन । आर्थिक वर्ष २०८०/०८१ मा ५५ लाख २७ हजार मात्रै आम्दानी गरेको थियो । गाउँपालिकाले जलजला क्षेत्रबाट नियमित आम्दानी कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भइरहेको गाउँपालिकाको भनाइ छ ।
किसानको घरमा एक सिजनमा विसौ करोडको आलु निर्यात गर्न सफल जिल्लाको गंगादेव गाउँपालिकाको आफ्नै आम्दानी भने उत्साहजनक छैन । उसले आर्थिक वर्ष २०८०/०८१ मा २९ लाख ४५ हजार आन्तरिक आमदानी गरेको थियो । तरकारी, बङ्गुर र बाख्रा पालक किसानहरूलाई व्यावसायिक बनाएर वार्षिक करोडौँ रुपैयाँ भित्र्याउन सफल जिल्लाको त्रिवेणी गाउँपालिकाको आफ्नै आमदानी भने सन्तोषजनक छैन ।
आर्थिक वर्ष २०८०/०८१ म ८६ लाख १५ हजार आम्दानी गरेको उसले आर्थिक वर्ष २०८१/०८२ मा ७८ लाख ८५ हजार आम्दानी गरेको थियो । जिल्लाकै आर्थिक नगरीको उपमा पाएको सुनिलस्मृती गाउँपालिकाको आर्थिक अवस्था भने सन्तोषजनक छैन । पूर्वोत्तर रोल्पा मात्रै नभएर प्युठान, वाग्लुङ र रुकुम पूर्वको समेत बजार केन्द्र रहेको सुनिलस्मृती गाउँपालिकाले आफ्नै आर्थिक अवस्थामा भने वदलाव ल्याउन सकेको छैन ।
आर्थिक वर्ष २०८०/०८१ मा ५९ लाख ३६ हजार आन्तरिक आम्दानी गरेको उसले आर्थिक वर्ष २०८१/०८२ मा ८० लाख ३४ हजार आम्दानी गरेको थियो । उसले हरेक वर्ष १ करोड आन्तरिक आय हुने प्रक्षेपण गर्दै आएको छ । जिल्लाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ४२ लाख ४८ हजार आन्तरिक आम्दानी गरेको थियो ।
आन्तरिक आय कम भए यसले स्थानीय तहलाई दिगो रूपले चलाउन समस्या पर्ने लुम्बिनी प्रदेश सभा सदस्य जोखबहादुर महराको भनाइ छ । सधैँ मागेर मात्रै सरकार चलाउने हुँदैन, सङ्घ र प्रदेश सरकारले दिने बजेट घटाउँदै गए स्थानीय तहहरू समस्यामा पर्ने भएकाले बेलैमा साेंच्नु पर्ने सुझाव दिए ।
लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका महराले गाउँहरू आत्मनिर्भर हुने र सहरहरू परनिर्भर हुने बताउँदै रोल्पाका अधिकांश स्थानीय तहहरू गाउँमा रहेको बताए । अहिले राज्यको दृष्टि गाउँमा कम र सहरमा ज्यादा परेको बताए ।
अबको आवश्यकता वित्तीय सङ्घीयता मजबुत बनाउने रहेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्यको भनाइ छ । रोल्पाको सबै स्थानीय तहको आन्तरिक आयको अवस्था कमजोर देखिन्छ, यसलाई वृद्धि गर्न सबै स्थानीय तह लागि पर्नुपर्ने आचार्यको भनाइ छ ।