© 2026
रुकुम पश्चिम,२ साउन।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै शुक्रबार जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।बाँदरपानीबाट रुघाहुँदै खलङ्गातर्फ जाँदै गरेको लु १ ज ४११२ नम्बरको जिप सिम्रुतु बजार नजिकैको भित्री सडक खण्डमा अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
घाइते हुनेमा जिप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, २० वर्षीया सरिता केसी, २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ की शिवकुमारी शर्मा रहेका छन्।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरी चौकी सिम्रुतुले जानकारी दिएको छ। जिपमा चालकसहित १० जना यात्रु थिए। प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था सामान्य र केहीको अवस्था मध्यम रहेको छ।