Butwal Today

मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक

२ श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको दाबी गरेका छन्। शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले गृह मन्त्रालयले नागरिकको जिउधनको सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा निरन्तर काम गरिरहेको बताएका छन्।

उनले भने, “हाम्रो पहिलो जिम्मेवारी मुलुकमा शान्ति सुरक्षाको सुनिश्चितता र नागरिकको सुरक्षा हो। अपराध न्युनीकरण, नियन्त्रण र कानुन बमोजिम सजाय दिने काम पनि हाम्रो जिम्मेवारीमा पर्दछ।”

गृहमन्त्रीले लागुऔषध नियन्त्रण र सडक दुर्घटना नियन्त्रणका विषयमा सबै पक्षको सहकार्य आवश्यक रहेको पनि औंल्याए। उनले गृह मन्त्रालयले संविधान र कानुनको कार्यान्वयन, सुशासन स्थापना र विपद् व्यवस्थापनका कामहरू निरन्तर सञ्चालन गर्दै आएको बताए।