काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आगामी अगस्त ५ देखि ८ सम्म तुर्कमेनिस्तानमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) मा सहभागी हुन तयारीमा रहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भ्रमणका लागि आवश्यक तयारीहरू तीव्र पारिएको छ।

प्रधानमन्त्री ओलीले हालै स्पेनमा सम्पन्न संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएर असार २० गते फर्किएका थिए। त्यसपछि साउनको दोस्रो वा तेस्रो साता भारत भ्रमणको तयारी भइरहेको भनिए पनि अचानक तुर्कमेनिस्तान भ्रमणको जानकारी सार्वजनिक भएको हो। भ्रमणको मिति भने हालसम्म तय भइसकेको छैन।
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेको छ। नेपालका लागि एलएलडीसी सम्मेलनलाई अत्यन्त महत्त्वपूर्ण मानिँदै आएकोले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय सहभागिता जनाउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
एलएलडीसी सम्मेलनमा नेपालसहित एसिया, अफ्रिका र अन्य क्षेत्रका गरी ३२ भूपरिवेष्टित विकासशील राष्ट्र आबद्ध छन्। एसियाबाट सहभागी हुने १२ राष्ट्रहरूमा नेपाल, अफगानिस्तान, आर्मेनिया, अजरबैजान, भुटान, कजाखस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान रहेका छन्।



