© २०२३
सल्यान, ०२ साउन ।
सल्लाको खोटाले वन समूहलाई आम्दानी गराए पनि त्यसले वन नासिने चिन्ता थपेको छ । खोटो सङ्कलनमा सावधानी नअपनाउँदा खोटो निकालिएका सल्ला नासिने खतरा बढेको हो । जिल्लाको ६ सय ३० वटा सामुदायिक र २ सय ३ कवुलियती वन रहेको सल्यानमा अधिकांश वन समूहले सल्लाको खोटो बिक्री गर्दै आएका छन् ।
६४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको सल्यानमा अधिकांश खोटो सल्लाको वनमा छ । सामुदायिक वनले खोटो बेचेर आम्दानी गरेको रकमबाट वन व्यवस्थापन र सामुदायिक सेवामै खर्चिने गरेका छन् । उपभोक्तालाई ग्याँस चुलो वितरणदेखि आयआर्जनका काममा लगानी गर्दै आइरहेका छन् । जसले गर्दा खोटो उपभोक्ताको जीविकोपार्जनको माध्यम बनेको छ ।
जिल्लामा सात वटा कम्पनीले वन समूह मार्फत खोटो सङ्कलन गर्दै आएका छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्काले खोटो सङ्कलन निर्देशिका पालना नगरेको खण्डमा सल्लाको रुख सुक्ने, वनमा आगलागी हुँदा धेरै क्षति हुने सम्भावना रहने बताउँदै सावधानी अपनाउन आग्रह गरे ।
उनले भने, “९५ सेन्टिमिटरभन्दा साना रुखबाट खोटो सङ्कलन नगर्नु, बोक्रा चिरा पार्दा गहिरो चोट नलगाउनु, सङ्कलन गर्ने ज्यामी र समिति पदाधिकारीलाई तालिम दिनु आवश्यक छ । यदि यस्ता सावधानी नअपनाई जथाभाबी सङ्कलन गरियो भने वन क्षेत्रलाई फाइदा होइन, उल्टो नोक्सानी हुने खतरा रहन्छ ।” सामुदायिक वन समूहले आम्दानीको ५० प्रतिशत समुदायको जीविकोपार्जनमा र २५ प्रतिशत सामुदायिक काममा खर्च गर्नुपर्ने कार्यालयको भनाइ छ ।
सल्लाको खोटो बिक्रीबाट आर्थिक वर्ष २०८०/०८१ मा सवा दुई करोड बढी आम्दानी गरेका सल्यानका वन समूहहरूले आर्थिक वर्ष २०८१/०८२ मा दोब्बर आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा चार करोड बढीको सल्लाको खोटो निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
जिल्लाका विभिन्न सामुदायिक र कवुलियती वनबाट ३५ लाख १८ हजार २ सय ८७ किलो खोटो निकासी भएको र यसबाट विभिन्न सामुदायिक वनको खातामा चार करोड २२ लाख १९ हजार ४ सय ४० रुपैयाँ जम्मा भएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिए ।
ठुलो परिमाणमा खोटो निकासी हुँदा मूल्य अभिवृद्धि कर ५४ लाख ८८ हजार पाँच सय २७ रुपैयाँ सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा २५ सय मेट्रीकटन खोटो निकासीबाट सामुदायिक वनको खातामा दुई करोड २६ लाख रुपैयाँ जम्मा भएको थियो ।
सल्लाबाट निकालिने खोटो विभिन्न काममा प्रयोग हुने तार्पिन तेल र पेन्ट गर्ने रङ बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको छ । सल्लाको खोटो निकासीले सल्यानका सामुदायिक वन समूहहरूको आम्दानीमा उल्लेखनीय वृद्धि गरेको त छ ।
तर यससँगै पर्यावरणीय सन्तुलन र दीर्घकालीन वन संरक्षणको सन्तुलन मिलाउँदै निर्देशिका अनुरूप खोटो सङ्कलन तथा व्यवस्थापन गर्नु अत्यावश्यक छ । समयमै अनुगमन, तालिम र नियमन नहुने हो भने वन क्षेत्र नै सङ्कटमा पर्ने सम्भावना पनि उत्तिकै रहने जानकारहरू बताउँछन् ।