© २०२३
काठमाडौं, २ साउन ।
इरानले सन् २०२५ जनवरीदेखि अहिलेसम्म १४ लाखभन्दा बढी अफगानी नागरिकलाई जबर्जस्ती देशनिकाला गरेको छ। संयुक्त राष्ट्रसंघको शरणार्थी निकायका अनुसार इरान–अफगानिस्तान सीमामा दैनिक झन्डै २० हजार अफगानी नागरिक फर्काइँदैछन्। यो क्रम विशेषगरी गत महिनाको इरान–इजरायल युद्धपछि तीव्र गतिमा बढेको हो।
२४ जुनदेखि ९ जुलाईसम्मको छोटो अवधिमा मात्रै ५ लाखभन्दा बढी अफगानीहरू इरानबाट निकालिएको जनाइएको छ। इरानले अवैध रूपमा बसोबास गरिरहेका अफगानीहरूलाई जुलाई ६ सम्म देश छाड्न अन्तिम समय सीमा दिएको थियो। इरानी अधिकारीहरूले उनीहरूलाई इजरायल वा अमेरिकाको पक्षमा जासुसी, आतङ्कवादी क्रियाकलाप तथा ड्रोन निर्माणमा संलग्न रहेको आरोप लगाउँदै आएका छन्।
देशनिकालाको प्रक्रियामा अफगानीहरूले अनेकौं दुर्व्यवहार व्यहोर्नु परेको गुनासो गरेका छन्। धेरैले आफूमाथि कुटपिट, गालीगलौज, धनसम्पत्ति खोसिएको र नाबालिगहरूलाई आमाबुबाविना नै फर्काइएको बताएका छन्। ४२ वर्षदेखि इरानमा काम गरिरहेका मोहम्मद अखुन्दजादालगायत थुप्रै निर्वासित अफगानीहरूले आफूहरूसँग कुनै भविष्यको आशा नरहेको अनुभव साझा गरेका छन्।
जातीय आक्रमण र सामाजिक बहिष्कार पनि तीव्र रूपमा बढेको छ। अफगानीमाथि गाली, छुरा आक्रमण, ज्याला खोसिनेसम्मका घटनाहरू भएका छन्। अस्पताल, स्कूल र पसलहरूले समेत सेवा दिन अस्वीकार गर्ने अवस्था देखिएको छ। “हामीलाई फोहोरझैँ फालियो,” एक निर्वासित अफगानी महिलाले गार्जियनसँगको कुराकानीमा बताइन्।
इरानमा अफगानी आप्रवासीहरूमाथिको यस्तो व्यवहारले मानवअधिकार उल्लङ्घनको गम्भीर चिन्ता पैदा गराएको छ। यद्यपि इरानी अधिकारीहरूले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।