© २०२३
काठमाडौं, २ साउन ।
नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको निर्णयविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ। जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले दिएको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन दर्ता गरेको हो।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले पुनरावेदनको पुष्टि गर्दै फैसलामा गम्भीर त्रुटि र प्रमाणको पर्याप्त मूल्यांकन नगरेको आरोप लागेकाले सर्वोच्चमा मुद्दा लगेको बताए। यसअघि २५ असारमा महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च जाने निर्णयमा हस्ताक्षर गरेका थिए।
गत १४ जेठमा उच्च अदालतको इजलासका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनले आलमसहित अन्यलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला गरेका थिए। तर सरकारको तर्फबाट उक्त फैसला विवादास्पद भन्दै जिल्ला अदालतबाट सफाइ पाएका र उच्च अदालतबाट सफाइ पाएका सबैलाई दोषी ठहर गर्नुपर्ने मागसहित पुनरावेदन गरिएको हो।
सरकारको नीति अनुसार तल्लो अदालतको फैसलामा गम्भीर विचलन देखिएमा पुनरावेदन गरिने भएकाले यो मुद्दा सर्वोच्च अदालत पुगेको हो।