© २०२३
बुटवल, ०२ साउन ।
भैरहवाका जनक रानासंग साइकल नाता गहिरो छ । साइक्लिङ उनलाई परिवार आफन्तभन्दा प्यारो लाग्छ । उनी बिहान सबेरै साइकल चलाउँछन् । उमेरले ५४ वर्ष पुगेका रानाको साइक्लिङ गर्ने दैनिकी बनेको छ । प्रत्येक दिन बिहान भैरहवाबाट साढे चार बजे बुटवल आउँछन् । साथीहरूसँग चिया पिएर फेरि साइकलमा नै भैरहवा फर्कन्छन् ।
साइकल चलाएर नै आफू स्वास्थ्य भएको उनी बताउँछन् । ‘कुनै रोग छैन,’–उनले भने । साथीभाइसँगै उनी देशका विभिन्न कुनाकाप्चामा हुने इभेन्टमा सहभागी भएका छन् । आयोजकले तयार गरेको रुटमा घुम्ने र रमाउने गर्छन् । बाके, बर्दिया, चितवन, मुक्तिनाथ लगायतका देशभित्र र विदेशमा पनि उनी साइकल चलाएका छन् ।

भैरहवाका सूर्य सारू १२ वर्षअघि खुट्टामा समस्या भयो । हिँडडुल गर्न समेत कठिन भएपछि उनी चिकित्सकलाई देखाउन पुगे । ‘चिकित्सकले खुट्टाको लिगामेन्टको समस्या देखियो ।’–उनले भने । चिकित्सककै सुझावमा उनले साइकल चलाए । पछिल्लो एक दशकबाट नियमित साइकल चलाउँदै आएका उनी आफ्नो समस्या सबै समस्या हराएको बताए ।
साइक्लिङसँगै स्वास्थ्य मात्र नभई अहिले उनी विभिन्न पर्यावरणलाई जोडेर अभियान चलाउन लागेका छन् । बिहान सबेरै साथीहरूसँग जुटेर साइकलमा विभिन्न रुटमा हिड्न गर्छन् । ‘बिरामी भएर औषधी उपचारमा लाग्नुभन्दा साइकल चलाएर स्वास्थ्य हुनु ठिक ।’–उनले भने । साइकल सिटी भैरहवाका संस्थापक अध्यक्ष समेत रहेका उनी भर्खर मात्र मुक्तिनाथमा सम्पन्न साइकल इभेन्टमा सहभागी भए ।

देश घुम्ने र घुमाउने अभियानमा उनी लागेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रवर्द्धन गर्ने ‘बुद्ध ज्ञान साइकल यात्रा’ को तेस्रो संस्करणको तयारीमा छन् । जसमा देश विदेशबाट समेत सयौँ साइकल यात्रीहरू सहभागी गराउने लक्ष्य रहेको बताए । भैरहवालाई दक्षिण एसियाको पहिलो साइकल सहर बनाउने ठुलो उद्देश्य सहित साइकल सिटी भैरहवाको योजना रहेको उनले बताए ।
बुटवल कालिका नगरका दीपक कार्की पनि दैनिक साइकल चलाउँछन् । नसाको समस्या भएका उनी साइकल चलाएरै ठिक भएको बताए । ‘बिहान २ घण्टा साइक्लिङकै कारण शरीरबाट रोग टाढा हुन्छ ।’– उनले भने । एक दिन साइकल नचलाउँदा के छुटेजस्तो हुने उनको तर्क छ । नियमित साइकल चलाउने मात्र नभई उनी बुटवल युनाईटेड साइक्लिङ क्लबमा समेत आबद्ध छन् ।

क्लबबाट प्रत्येक वर्ष विविध कार्यक्रमहरू गर्दै आएका छन् । यस वर्ष मणि मुकुन्द बुटवल कोरा २०२५ को संयोजक समेत रहेका उनी साइकल अभियानमा सरकारको ध्यान जान जरुरी रहेको बताए । साइकलमैत्री पूर्वाधार विकास र कार्यक्रम सरकारबाट ल्याउन सके मात्र साइकल संस्कृति विकास हुने उनले बताए । साइकलमार्फत साथीभाइ जुट्ने र सामाजिक गतिविधि समेत बढेको छ ।