© २०२३
सामान्यतः नेपालमा मनसुन भित्रिने मिति जुन १३ भएपनि यस वर्ष मनसुन सरदर भन्दा १५ दिन अधि जेठ १५ (मे २६) मा नेपाल प्रवेश ग¥यो । त्यसपछिको दुई हप्ता मनसुन निस्क्रिय रहयो । नेपाल प्रवेश गरेको २३ दिन पछि मात्र मनसुन देशभर फैलन पुग्यो । मनसुन सक्रिय हुनासाथ पहाड बाढीपहिरोको चपेटामा परेको छ । मनसुन शुरु भएपछिका ४५ दिनको अवधिमै देशमा भएका बाढी पहिरोका २४६ घटनामा १९ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् ।
रसुवाको बाढी र हुम्लाको पहिरोले मानिसहरूलाई त्रसित बनाएका छ । देशको पूर्वी पहाडी क्षेत्रमा मनसुन शुरु हुनासाथ भएका बाढी र पहिरोका घटनामा सडक सम्पर्क नै विच्छेद भएको छ.। नदि कटान, डुबान, पहिरो र बाढीले खेतीयोग्य जमिन, घर, सडक, पूलपुलेसा र अन्य भौतिक संरचनाहरूमा क्षति पुगिरहेको छ । नेपालमा पछिल्ला वर्षमा मनसुनजन्य विपदको संख्या बढिरहेको देखिन्छ ।
गत वर्ष मनसुनजन्य विपदबाट ४९५ जनाको मृत्यु, ६६ जना बेपत्ता र ५२२ जना घाईते भएको गृह मन्त्रालयको तथ्यांक छ । मनसुनको अन्त्यतिर असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल र आरिघोप्टे पानीका कारण आएको पहिरो, बाढी तथा डुबानबाट काठमाण्डौ लगायतका ठाउँमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । सबैभन्दा धेरै क्षति बागमती प्रदेशमा भयो । तीन दिनको भारी वर्षाले २५० जनाको ज्यान लियो भने १८ जना बेपत्ता र १७८ जना घाइते भएका थिए ।
उक्त अवधिको ’क्षति तथा नोक्सानीको प्रारम्भिक आँकलन’ अनुसार करिब ४६ अर्ब ६८ करोड ४३ लाखभन्दा बढीको क्षति भएको थियो । आँकलन अनुसार सडक, पुल, जलविद्युत लगायत भौतिक पूर्वाधारतर्फ ३८ अर्ब ९२ करोड ३४ लाख, कृषि तथा पशुधनतर्फ ५ अर्ब ८८ करोड २८ लाख, शिक्षातर्फ ७ करोड २ लाख, स्वास्थ्यतर्फ २ करोड १७ लाख र सिंचाईतर्फ १ अर्ब ३५ करोडको क्षति भएको अनुमान छ ।
मनसुनजन्य विपत्तिबाट कम अवधिमा भएको यो ठुलो क्षति हो । मौसम विभागले यो वर्ष बढी वर्षा हुने र बाढी पहिरोका घटनाहरू बढ्ने पूर्वानुमान गरि सचेत र सुरक्षित रहन सुचना गरिरहेको छ । यो अवस्थालाई हेर्दा यो वर्ष नेपाल र नेपालीहरूले मौषमजन्य प्राकृतिक प्रकोपको कारणले गत वर्ष भन्दा धेरै क्षति भोग्नुपर्ने अनुमान छ ।
नेपालमा हरेक वर्ष दोहोरीरहने प्राकृतिक प्रकोप र त्यसबाट हुने क्षतिको अध्ययन गर्दा प्राकृतिक प्रकोपहरू बढ्नु र त्यसबाट धेरै क्षति हुनुमा मानिसका व्यवहारहरूले मुख्य भूमिका खेलेको देखिन्छ । खासगरी जल. जमिन र जंगलको उपयोगको सन्दर्भमा मानिसको बदनियत, लापरवाही र हेलचेक्र्याईपूर्ण कार्यहरूले प्राकृतिक प्रकोपको उत्पत्ति र विनाशलिलामा सघाइरहेका छन् ।यसलाई पछिल्ला वषृहरूमा बढ्दै गएको विस्वब्यापि ऊष्णिकरण र जलवायु परिवर्तनले समेत सघाईरहेको छ ।

नेपालको पहाडी क्षेत्रमा पछिल्ला वर्षहरूमा पहिरोका प्रकोपहरू बढिरहेका छन् । पहाडी क्षेत्रको भुबोट कमजोर भएकोले धेरै पहिरो जाने सम्भावना भएपनि धेरै पहिरो जानुमा मानवीय क्रियाकलापहरू मुख्य जिम्मेवार छन । ५० को दशक देखि पहाडका हरेक वस्तीहरूमा सडक पु¥याउने होडबाजी चलेको छ । विस्तृुत वातावरणिय प्रभाव मुल्यांकन नगरी डोजरको प्रयोग गरेर अन्धाधुन्द ढंगले बाटो खन्दा पहाडी क्षेत्रका कुलो, खोल्सा र पानीका मुलहरू पुरिदै गएका छन् ।
सानो बजेटमा बनाइएका सडकहरूमा पानी निकासको नालाहरू नबनाइने भएकोले वर्षातको पानी कच्ची सडकबाट बगेर पहाडको कमजोर जमिनलाई बगाउने गरेको देखिन्छ । झुम्सा चरंगे सडकको मुढाबास चौकिभञ्ज्याङ सडकको पहिरोलाई यसको उदाहरणको रूपमा हेर्न सकिन्छ । सडक जस्तै घर लगायतका अन्य भौतिक संरचना निर्माण गर्दा जमिनको अवस्था, भिरालोपन , जंगलको अवस्था र पानीको निकासको व्यवस्था जस्ता पक्षहरूलाई बेवास्ता गर्ने परम्परा बनिसकेकोले पहाडी क्षेत्रमा पहिरोका घटनाहरू बढिरहेका छन्।
२०७२ को महाभूकम्पले पहाडी क्षेत्रमा चिराचिरा पारेकोले यो वर्ष पनि ति ठाँउमा वर्षातको पानी पस्नाले पनि पहिरोको समस्या बढी हुने अनुमान गर्न सकिन्छ ।चुरेमा बढिरहेको मरुभूमिकरणको कारणले खोलाको सतह माथि उठ्नु र भारतले सिमा क्षेत्रमा बाँध बनाएको कारणले मात्र तराई डुवानमा परेको हैन, तराईका वस्तीहरूमा जलनिकासमा अवरोध उत्पन्न गरिएकोले धेरै गाँउवस्तीहरू डुबानमा पर्ने गरेका छन् ।
तराईका जिल्लाहरूमा जस्तै उपत्यकामा पनि मानव बसोबासयोग्य सबै ठाउका पानीका पुराना निकास पुरिएका छन् , खोलाहरू साघुँरिएका छन् । खासगरी शहर र नगरोन्मुख क्षेत्रमा प्लटिंग गर्दा कतिपय कुलाहरूको नामोनिशान नै मेटाइएको छ । घना वस्ती हुदै गएका गाँउतिर गएका कुलाहरू फोहरमैलाले गर्दा पुरिएका छन् र साघुरिएका छन् । यी कारणले गर्दा वर्षातको समयमा अलिकति बढी पानी पर्ने वित्तिकै ति क्षेत्रहरू डुबानमा पर्ने गरेका छन् । त्यसको प्रत्यक्ष अनुभव गत वर्ष काठमाडौंले गरिसकेको छ । परासी, भैरहवा, बुटवल, नेपालगञ्जले त यो समस्या भोग्न थालेको धेरै भैसकेको छ ।
नेपालमा अव्यवस्थित वस्ती विकासको क्रममा पुराना कुला, झरन र नालाहरू पुर्ने क्रमले तिब्रता पाएको छ । भूमाफिया, स्थानीय सरकार, कर्मचारी र नापी कार्यालयका कर्मचारीको मिलेमतो पानीका निकासहरू पुरेर प्लाटिंग गर्ने कामलाई बैधानिकता प्रदान गरिएको छ । कुलो साघुरो बनाएर भौतिक निर्माण गर्ने होडबाजी स्थानीय वासिन्दामा पनि देखिएको छ । अहिले कतिपय स्थानीय सरकारहरूले समेत सडक चौडा पार्ने नाममा खोला, नहर र कुलोहरू पुरेर निर्माण कार्य अघि बढाइरहेका छन् ।
पहाडी क्षेत्रमा कमजोर भूभाग डोजरले भत्काएर बाटो बनाउने काममा जनप्रतिनिधिहरू नै अघि सरिरहेका छन् र सुविधा पाउने लोभमा स्थानीय वासिन्दाले त्यसलाई सघाइरहेका छन् । सडक खन्दा कमजोर बनेकै जमिन खनेर र खोल्साहरू पुरेर घर बनाउने क्रम पनि पहाडी क्षेत्रमा बढिरहेको छ ।
पहाडी र हिमाली क्षेत्रमा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका प्रत्यक्ष असरहरू देखा परिरहेका छन् । पहाडी र हिमाली क्षेत्रमा लामालामा खडेरी पर्न थालेका छन् भने डढेलो उकालिदै गएको छ । खडेरी र डढेलोले जमिनलाई सुख्खा बनाउदै लागेको छ । सुख्खा जमिन सामान्य वर्षामा पनि बग्ने गर्दछ. भिरालो पहाडमा सुख्खापन बढ्दा धुले पहिरोहरू समेत जाने क्रम बढेको छ ।
हिमाली क्षेत्रमा हिमगलनमा आएको तीव्रताले गर्दा हिमतालहरू विस्फोटनको खतरा बढ्दै गएको छ । निकै कम पानी पर्ने चिसो मरुभूमि भनेर चिनिने हिमाली क्षेत्रमा समेत अचेल ठुलो पानी पर्न थालेको छ । पहाडी क्षेत्रमा एक्कासि ठुलो पानी पर्ने, वर्षा चक्रमा अनियाटता हुने समस्याहरू बढिरहेका छन् । भूकम्पले चर्काएको र डोजरले छियाछिया बनाएको पहाडी भूभागमा छोटो समयमा ठुलो पानी पर्दा पहिरोको जोखिम धेरै हुने गरेको छ । तराईमा बग्ने अधिकांश नदीहरूको उत्पत्ति पहाडी क्षेत्रमै भएकोले पहाडी क्षेत्रमा ठुलो पानी पर्दा, भूक्षय हुँदा तराईका नदीहरू शक्तिशाली हुदै फैलने र बढी क्षति गर्ने गरेको देखिन्छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनजन्य विपद्बाट देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुने आँकलन गरेको छ । मनसुन सक्रिय भएको ४५ दिनमा देशाबह्र त्यति ठुलो पानी परेको छैन तर गत वर्ष जस्तै मनसुन अवधिमा कुनैपनि समयमा धेरै पानी पर्ने र क्षति हुने खतरा जिवितै छ. मानवजन्य, भौगर्भिक र जलवायु परिवर्तनजन्य कारणले गर्दा गत वर्ष जस्तै पानी परेमा पनि यो वर्ष त्यो भन्दा बढी क्षति हुने देखिन्छ ।
नेपालमा मनसुनजन्य विपत्ति आउँदा रोइकराई गर्ने र हिउँदा लाग्दा समस्या बिर्सदै जाने पुरानै रोग हो । गत वर्षको समस्याबाट पाठ नसिकेकोले र राज्य तथा समुदायको पूर्व तयारी समेत नभएकोले गर्दा विगतमा भन्दा विकराल समस्या आगामी दिनमा नहोला भन्न सकिदैन । प्राकृतिक बिपत्ति नदोहोरियोस र विपत्ति आउदा पनि कम क्षति होस् भन्नको लागि अहिले देखि नै साबधानी अपनाउनु पर्छ । खोला नदीका जलाधार र वहाव क्षेत्रमा भैरहेको दोहन र अतिक्रमणलाई तुरुन्तै रोकेर नदीको पुरानो बहाव मार्ग कायम गरिनु पर्छ ।
डुबान रोक्नको लागि पुराना सबै कुलो, खोल्साहरूको नक्शांकन गरि त्यहाँ भैरहेका भौतिक निर्माणलाई तुरुन्तै हटाउनेर नयाँ निर्माण गर्न रोक लगाउने नीति बनाएर कडाइकासाथ लागु गर्नु पर्दछ । पहाडी क्षेत्रमा जसरि भएपनि सडक पु¥याउने भन्ने अन्धविकासबादी सोचमा परिवर्तन गरेर हरित सडक निर्माणलाई जोड दिनुपर्दछ । जति नै सुगम र अवसरयुक्त ठाउँ भएपनि बाढी र पहिरो आउन सक्ने तथा जोखिमपूर्ण भनि पहिचान गरिएका ठाँउमा बसोबास गर्नु हुदैन भन्ने कुरालाई सबैले मूल मन्त्र मान्नु पर्दछ । प्रकृति बहुलाउन्न, बहुलाउन बाध्य पार्ने मानिस नै हो भन्ने कुरा सबैले बुझेमा जीवन र सम्पत्तिलाई प्राकृतिक विपत्तिबाट अवस्यपनि सुरक्षित राख्न सकिनेछ ।