Butwal Today

आज कर्णालीमा देउडा पर्व धमधामले मनाइयो

१ श्रावण २०८२, बिहीबार
अ+
अ-

सुर्खेत,१ साउन । 

कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वलाई विशेष महत्त्व दिएर आज सार्वजनिक बिदा पनि दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ–संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ । २०८१ चैत्र १७ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशमा आज साउने सङ्क्रान्ति तथा देउडा पर्व धूमधामका साथ मनाइएको छ । यस पर्वको अवसरमा कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज देउडाको आयोजना गरिएको छ । देउडासँगै कर्णालीमा बेलुका राँका बाल्ने र लुतो फाल्ने चलन छ । साउने सङ्क्रान्तिको साँझ, असार महिनामा धान रोप्दा लागेको हिलो पखाल्न र छाला रोगबाट बच्न लुतो फाल्ने प्रचलन रहेको मानिन्छ ।

कर्णालीको परम्परा अनुसार भलायो, कुकरडाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नासपाती जस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेको राक्षसको पूजा गरिन्छ । बेलुकी अगुल्टो फाल्ने विधि अहिले निकै चर्चित छ, जसलाई लुतो फाल्ने भनिन्छ । साँझ सबैले आआफ्नो घरको छत तथा आगनमा सल्लाको झरोबाट आगो बालेर सोही बलेको आगो फाल्दै गाली गर्ने चलन छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूबाट बसोबासका लागि प्रदेश राजधानी सुर्खेतमा आएका कर्णालीवासीहरू हरेक महिनाको एक र १५ गते यसरी नै देउडामा भलाकुसारी गर्ने गर्दछन् । पुरुषको एक पङ्क्ति र अर्को पंक्तिंमा महिलाको गोलाकार घेरामा देउडाको घम्साघम्सी हुन्छ । देउडामार्फत सुख दुःख आफ्ना पिर व्यथा साटासाट हुने गर्दछ । त्यति मात्र होइन कहिलेकाहीँ चाडपर्व तथा समसामयिक विषयमा पनि देउडा गाउँदै आएका छन् यी  दिनहरूमा हेर्नेहरुको भिड लाग्दछ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत कर्णालीका विभिन्न जिल्लाका बासिन्दाहरूको बसोबास रहेको जिल्ला हो । विशेष गरेर सशस्त्र द्वन्द्वको बेलामा विभिन्न जिल्लाहरूबाट विस्थापित भएर सुर्खेत झर्ने क्रम बढ्यो । उनीहरूलाई सुर्खेत झरेपछि एकै ठाउँ बसिरहँदा अत्यास लाग्यो । फलस्वरूप देउडाको समूह बन्न पुग्यो र अहिले सबैको सुख दुःखको चौतारी बनेको छ ।

२०६३ सालबाट समूहको रूपमा सुरु गरिएको देउडालाई २०६८ सालमा भेरी कर्णाली लोक सांस्कृतिक जागरण मञ्चको रूपमा  दर्ता गरे । त्यसयता निरन्तर रूपमा देउडा कार्यक्रमलाई अगाडी बढाएका छन् । पछिल्लो समय  कर्णाली सरकारले साउन १ गतेलाई सङ्क्रान्ति तथा देउडा पर्वको रूपमा सार्वजनिक बिदा दिँदै आएको छ ।

विवाह, पूजा तथा मेला पर्वहरूमा पनि देउडाको माग भइरहेको देउडा कलाकार सुनसरा शाही बताउँछिन् । ‘यसरी देउडा गाउन पाउँदा आफ्ना सबै दुःख पीडा बिर्सिन्छौ’ उनले भनिन्‘देउडा खेल्नको लागि अघिल्लो दिनमा सबै घरको काम व्यवस्थापन गरेर आउँछौ ।’

कर्णाली प्रदेशको संस्कृतिको संरक्षण गर्न आफ्नो दायित्व हो भन्छिन् शाही । देउडा खेलबाट नै देउडा संस्कृतिको उत्पत्ति भएको पाइन्छ । यसमा गायकहरू गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा गीतै गीतमा सवाल जवाफ हुन्छ । यसमा प्राय: एक समूह युवा र अर्को समूहमा युवती रहेका हुन्छन् । युवा/युवा बिच र युवति /युवति बिच पनि यो सवाल जवाफको खेल हुन्छ ।