© २०२३
काठमाडौं, १ साउन ।
नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजदेखि सुरु भएको छ। बैठकमा पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको तयारीसहित राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी विषयमा औपचारिक छलफल थालिएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार साउन २ गते पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने तयारीस्वरूप सचिवालय बैठक बोलाइएको हो। एमालेले भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। विधान महाधिवेशनलाई लक्षित गरी सचिवालय, पोलिटब्युरो र केन्द्रीय तहका नेतृत्व तहमा व्यापक छलफल र तयारी सुरु गरिएको एमालेले जनाएको छ।