लमही, ३२ असार ।
लुम्बिनी प्रदेशमा हालसम्म ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका अनुसार कुल ३ लाख २० हजार ९३९ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५७ हजार ८५७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको हो ।
प्रदेशका पहाडी जिल्लामध्ये सबैभन्दा अगाडि प्युठान रहेको छ । प्युठानमा कुल ६ हजार ५२५ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ६१२ हेक्टरमा रोपाइँ सम्पन्न भई ८६ प्रतिशत पुगेको छ । तराईका जिल्लामध्ये पश्चिम नवलपरासी सबैभन्दा अगाडि रहेको छ । त्यहाँ कुल २० हजार ४८० हेक्टरमध्ये १८ हजार ४३२ हेक्टरमा रोपाइँ भई ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
दाङमा ३७ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ७५१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने बर्दियामा ५० हजार १५० हेक्टर क्षेत्रमध्ये २९ हजार ५८९ हेक्टरमा रोपाइँ सकिएको छ, जुन कुलको ५९ प्रतिशत हो । यस्तै, बाँकेमा कुल ३४ हजार ७११ हेक्टर क्षेत्रफलमध्ये १५ हजार ६२० हेक्टरमा रोपाइँ सम्पन्न भई ४५ प्रतिशत मात्र पुगेको छ ।
लुम्बिनी प्रदेशको पहाडी जिल्लामा धान उत्पादनको हिसाबले अगाडि रहने गुल्मीमा भने कुल ७ हजार ५३९ हेक्टरमध्ये ४ हजार १३६ हेक्टरमा रोपाइँ सकिएको छ, जुन ५५ प्रतिशत हो।कृषि विकास निर्देशनालयले आगामी केही दिनमा बाँकी क्षेत्रफलमा पनि रोपाइँ तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ ।