© २०२३
चितवन, ३२ असार ।
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा भारतबाट काठमाडौँतर्फ जाँदै गरेको एक मिनी ट्रक दुर्घटनामा परेको छ। यूपी ३२ जेड एन ७८८३ नम्बरको आयसर ट्रक आफैं अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो। ट्रकमा भारतको लखनउबाट मेवा बोकेर ल्याइएको थियो।
दुर्घटनामा चालक २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन्। दुवै जनाको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।
यही स्थानमा गत वर्ष असार २८ गते दुई बस त्रिशूलीमा खस्दा ३९ जना यात्रु बेपत्ता भएका थिए। ६२ यात्रु सवार ती बसमध्ये तीन जना मात्र बाँच्न सफल भएका थिए भने २० जनाको शव फेला परेको थियो।
बारम्बार दुर्घटना भइरहने सिमलताल क्षेत्र सडक सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण बन्दै गएको देखिन्छ। सम्बन्धित निकायको ध्यानाकर्षण अहिले फेरि एकपटक अपरिहार्य बनेको छ।