© २०२३
सल्यान, ३२ असार ।
हरेक वर्ष जङ्गली जनावरको उपद्रो बेहोर्दै आएका सल्यानका किसान यस पटक पनि मकै बालीमा बाँदरले क्षति पु¥याउन थालेपछि चिन्तित बनेका छन् । विशेष गरेर जिल्लाको ग्रामीण भेग र जङ्गल छेउछाउमा गरिएको मकै खेतीमा बाँदर, दुम्सी, बँदेल, सुगा लगायतका जनावरले क्षति पुर्याउने गरेका छन् ।
जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित लामिडाँडाका किसानहरूले मकैको घोगामा दाना लाग्न नपाउँदै बाँदरले भाँचेर खाने र क्षति पु¥याउने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सल्यानका विभिन्न ग्रामीण क्षेत्रमा यस वर्ष मकै उत्पादनमा ठुलो क्षति पुगेको छ । मकैमा घोगा लाग्न नपाउँदै जङ्गली जनावर विशेष गरी बाँदरको हुलले खेतबारीमा धावा बोल्दा किसानहरू अत्यन्त चिन्तित बनेका छन् । यहाँको मुख्य खाद्यान्न सुरक्षाको स्रोत रहेको मकै बालीमा हरेक साल बाँदर, बँदेलको बथानले बाली सखाप पारिरहेको किसानको गुनासो छ ।
“घरको काम छाडेर बिहानदेखि रातिसम्म बारीमा बस्न पनि नसकिने“, कपुरकोट ३ लामिडाँडाका किसान टेक बहादुर वलीले भने ‘जोगाउने प्रयास गरेपनि कतिबेला आएर नोक्सान गर्छ, थाहै हुँदैन ।’
बर्सेनि मकै रोप्ने गरेका किसानहरू बाली राम्रो लागेर उत्साहित भएको बेला जनावरले क्षति गरिदिँदा निराश हुने गरेका छन् । किसानहरूले बाली उत्पादनमा घट्दो सफलता र बढ्दो जनावरको उपद्रोका कारण कृषि पेसाबाट विमुख हुनुपर्ने अवस्था आएको बताउँछन् । कपुरकोट गाउँपालिका सँगै छत्रेश्वरी, कुमाख, सिद्धकुमाख, कालीमाटी, बागचौर, बनगाड कुपिण्डे लगायतका क्षेत्रमा जङ्गली जनावरले मकै बालीमा ठुलो नोक्सानी गर्दै आएका छन् ।
धेरै कृषकको वर्षभरिको मुख्य बाली मकै भएकाले यसले उनीहरूको जीवनयापनमा प्रत्यक्ष असर गर्ने देखिन्छ । कृषि बाली जोगाउनका लागि स्थानीय, प्रदेश, केन्द्रीय सरकार र सरोकारवाला निकायसँग कुनै ठोस योजना देखिँदैन ।
जलवायु परिवर्तन, वन क्षेत्रको संरचना, मानव र वन्यजन्तुबिचको द्वन्द्व तथा खेती प्रणालीबिचको सन्तुलन गुम्दै जाँदा बाँदर लगायतका जनावरबाट मकै लगायतका बालीमा क्षति हुँदै गएको कृषि विज्ञहरूको भनाइ छ । कृषकलाई राहत, सुरक्षाका उपाय र दीर्घकालीन समाधान नखोजिएमा समग्र कृषि क्षेत्रमै असर पुग्ने खतरा बढ्दै गएको छ ।