Butwal Today

त्रिवि इन्जिनियरिङ शिक्षकहरूको आन्दोलनले पाँच क्याम्पसमा पढाइ ठप्प

३२ असार २०८२, बुधबार
अ+
अ-

 काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका शिक्षकहरूले स्वायत्तताको माग गर्दै पठनपाठन ठप्प पारेका छन्। १९ असारदेखि आन्दोलनरत प्राध्यापकहरूले २५ गतेदेखि पाँचवटै क्याम्पसमा कक्षा बन्द गरेका हुन्।

पुल्चोक, थापाथली, पूर्वाञ्चल, पश्चिमाञ्चल र चितवन क्याम्पसमा पठनपाठन रोकिएको छ। प्राध्यापक संघका अनुसार केन्द्रले डिन कार्यालयको आर्थिक र प्रशासनिक अधिकार कटौती गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

२०५५ सालको विकेन्द्रीकरण नियम अनुसार सञ्चालन हुँदै आएको संस्थानको अधिकार त्रिविले २०८० सालको बजेट वक्तव्यमार्फत कटौती गरेको भन्दै उनीहरू आक्रोशित छन्।

‘स्वायत्तता नफर्केसम्म आन्दोलन रोकिन्न,’ प्राध्यापक संघ पुल्चोकका सहसचिव रोशन कार्कीले बताए। शिक्षकहरूले सामूहिक राजीनामा समेत दिएका छन्।

यसबीच त्रिविको केन्द्रीय कार्यालयले समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने तयारी गरेको जनाएको छ। आन्दोलनका कारण हजारौं विद्यार्थीको पढाइ प्रभावित भएको छ।