Butwal Today

चिनियाँ भूमिमा अलपत्र चालकहरू तातोपानी नाकाबाट ल्याइने

३२ असार २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले रसुवामा बाढीका कारण चिनियाँ भूमिमा अलपत्र परेका नेपाली चालकहरूलाई तातोपानी नाका हुँदै उद्धार गर्ने तयारी भइरहेको बताएका छन्। बुधबार धादिङ चालक संघले बुझाएको ज्ञापनपत्रमा मन्त्री लेखकले उक्त आश्वासन दिएका हुन्।

संघका अध्यक्ष नारायण पन्तका अनुसार, रसुवामा आएको बाढीका कारण १३५ जना चालक केही दिनदेखि चिनियाँ क्षेत्रमा अड्किएका छन् र उनीहरू घर फर्किन नपाउँदा परिवार चिन्तित बनेका छन्। चालकहरूको तत्काल उद्धारका लागि पहल गर्न अनुरोध गरिएको थियो।

गृहमन्त्री लेखकले परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै आवश्यक तयारी भइरहेको जानकारी दिएका छन्। उक्त भेटमा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ पनि सहभागी थिए।

असार २४ गतेको बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको थियो। नेपाल–चीन मितेरी पुल, विद्युत् आयोजना, भन्सार कार्यालय, यार्ड, दर्जनौं कन्टेनर र विद्युतीय सवारीसाधन (ईभी) बाढीले बगाएको थियो। चीनतर्फ गएका कन्टेनरहरू समेत चिनियाँ भूमिमै डुबानमा परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?